दैजी छेला औद्योगिक क्षेत्र  शिलान्यासको दुई वर्ष बितिसक्दा निर्माण कार्य शिलान्यासमै

दैजी छेला औद्योगिक क्षेत्र  शिलान्यासको दुई वर्ष बितिसक्दा निर्माण कार्य शिलान्यासमै

कञ्चनपुर ।कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र  शिलान्यास गरेको दुई वर्ष बितेको छ । दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि नबढी शिलान्यासमै सिमित भएको छ ।

वि. स २०७७ फागुनमा कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । वेदकोट नगरपालिका–२ र ३ मा अवस्थित दैजी औद्योगिक क्षेत्र ४५० बिघा क्षेत्रफलमा निर्माण हुनेछ जसमा ३२ प्रतिशतमा प्लट रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले टेन्डर आह्वान, वातावरणीय मूल्याङ्कन, बस्ती व्यवस्थापन, बजेटको अभाव, सरकार परिवर्तन, स्थानीयवासीको अवरोध तथा आन्तरिक व्यवस्थापनका कारणले ढिलाइ भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवक्ता प्रकाश खड्काले बताए ।  
यसको लागत करिब नौ अर्ब रुपियाँ अनुमान गरिएकोमा यस क्षेत्रमा कृषि, खनिज, विद्युतजन्य उद्योग स्थापना गर्ने लक्ष्य छ, जसमा फलफूल तथा तरकारी, मासु प्रशोधन, म्यानुफ्याक्चरिङ, जडीबुटीजन्यउद्योग रहेका छन् । 

यस्तै सुर्तीजन्य, कुखुरापालन, चिनी, दूधजन्य, मैदा, चाउचाउ, शिशु खाद्य, कागज, काष्ठजन्य टेक्स्टाइल, गार्मेन्ट, फलाम तथा स्टिल, कस्मेटिक र निर्माणसम्बन्धी उद्योग रहेका छन् ।  

यस्तै यो क्षेत्र स्थापनापछि ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने लिमिटेडले जनाएको छ ।