दार्चुलामा  बालबालिकाहरुलाई कोरोना खोप लगाईने

दार्चुलामा  बालबालिकाहरुलाई कोरोना खोप लगाईने

दार्चुला । दार्चुलामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । भदौ ६ देखि १० गतेसम्म जिल्लामा अभियान सन्चालन गरेर बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने भएको हो । 

जिल्लाका लक्षित उमेर समूहका १८ हजार बालबालिकालाई ४ सय २९ खोप केन्द्रहरुमार्फत खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । फाइजर–बायोएनटेक खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । दार्चुला जिल्लाका लागि ४० हजार ५ सय डोज खोप आइपुगेको प्रमुख भट्टले बताए ।

 २१ दिनपछि मात्रै अर्को डोज लगाउनुपर्ने उनले बताए । दार्चुलामा यसअघि कोभिशिल्ड, एष्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार ९७ हजार जनाले पूर्ण मात्रा खोप पाएका छन् भने ४६ हजार ३ सय ६० जनाले बुस्टर डोज लगाएका छन् । जिल्लामा अहिले कोरोनाका १५ जना संक्रमित रहेको जनाइएको छ ।