कैलालीको होमस्टेमा लाटोकोसेरो उत्सव हुने

कैलालीको होमस्टेमा लाटोकोसेरो उत्सव हुने

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा यस वर्ष नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । 
चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा माघी होमस्टेमा उत्सव हुने तय भएको हो । सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ ९बीसीएन० ले सहकार्य गर्नेछन् । उत्सव आउँदो २० र २१ गते गरी दुई दिन आयोजना हुने जनाइएको छ । 

यसअघि, सन २०१९ मा स्याङ्जाको राङभाङमा नवौं लाटोकोसेरो तथा हुचिल उत्सव भएको थियो । किसानका साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेन । 
हरेक वर्ष हुने लाटोकोसेरो तथा हुचिल उत्सव दुई वर्षपछि यस वर्ष कैलालीको माघी होमस्टेमा आयोजना गर्ने टुङ्गो लागेको फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले जानकारी दिए । ‘यसवर्ष माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गर्ने पक्का भएको छ’, उनले भने,‘ठाउँको टुङ्गो लाग्यो । तर, अरु छलफल भएको छैन । अब कसरी आयोजना गर्ने भनेर सल्लाहका लागि हामी फेरि सो स्थानमा आउँछौं ।’ 

उत्सव आयोजनाका लागि स्थान अवलोकन गर्न केही दिन अगाडिमात्रै फ्रेन्ड्स अफ नेचरको टोली कैलाली आएको थियो । सो टिमले उत्सव आयोजनाका लागि माघी होमस्टेको अवलोकन गर्नुका साथै स्थानीयसंग छलफलसमेत गरेको थियो । 
विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य क्षेत्रमा रहेको माघी होमस्टेमा यस वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीयसमेत खुशी भएका छन् । यो उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पु¥याउने चराविदसमेत रहनु भएका हिरुलाल डङ्गौराले बताए । ‘सबैको प्रयासले यहाँ लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएपछि खुशी भएका छौं’, उनले भने । 

फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक म्युजियम प्रदर्शनी गर्ने गरिएको छ । यसैगरी, स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देशपनि दिने गरिन्छ । 
यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव हुन गइरहेको हो । यो उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले जानकारी दिएको छ ।