पास्टरले ‘मृतकलाई जीवित’ गराएको भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

पास्टरले ‘मृतकलाई जीवित’ गराएको भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

बुटवल । बुटवलको एक चर्चमा पास्टरले ‘मृत्यु’ भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ ।

विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता श्याम अर्यालले बताए । भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई  जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।

भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ  ।