एक दशक भन्दा बढीहुँदा पनि  पुनर्निर्माण हुन सकेन अछाम दरबार

एक दशक भन्दा बढीहुँदा पनि  पुनर्निर्माण हुन सकेन अछाम दरबार

अछाम । निर्माण सुरु भएको १४ बर्ष सम्म पनि अछाम सदरमुकाम मंगलसेनमा निर्माणाधीन अछाम दरबारको काम पुरा हुन सकेको छैन । ठेकेदारले निर्माणमा चासो नदिनाले पुनर्निर्माण सुरु भएको १४ वर्ष र ध्वस्त भएको २१ वर्ष हुन लाग्दा समेत दरबार अझै ठडिइसकेको छैन ।

तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन आक्रमणका क्रममा २०५८ फागुन ४ को राति अछाम दरबार पनि ध्वस्त भएको थियो । ध्वस्त दरबारको पुनर्निर्माण २०६५ सालमै सुरु भएको हो । तर, कहिले निर्माण व्यवसायीको ढिलाइ त कहिले निर्माणमा अवरोधका कारण योजना अझै पूरा भएको छैन ।

दरबारको पुनर्निर्माण २०६७ सालमै सक्नेगरी २ करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो  । राजेन्द्र–साउद–तुल्छिदुर्गा–बडिमालीका–कुँवर जेभीले निर्माणको ठेक्का लिएको थियो । सुरुमा मीनबहादुर कुवँरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरु निर्माण कम्पनीले केही रकम लगेर बाहिरिए ।

हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको छ । पुरानै संरचना अनुसार दरबार निर्माण गर्नुपर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलव्ध नहुने भएकाले दरबार निर्माणको काममा ढिला भइरहेको निर्माणको साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद बताउँछन ।