कैलालीमा जैविक तटबन्धले रोकियो कटान

कैलालीमा जैविक तटबन्धले रोकियो कटान

धनगढी। कैलालीको भजनी नगरपालिका–५ लालबोझीवासीले यस वर्ष कान्द्रा नदीको कटानबाट छुटकारा पाएका छन् । 
नदीले कटान गर्दै आएको क्षेत्रमा निर्माण गरिएको भौतिक र जैविक तटबन्धका कारण कटान रोकिएपछि लालबोझीवासीलाई राहत भएको हो । तटबन्ध निर्माणले यो वर्ष अहिलेसम्म बस्तीतर्फ कटान भएको छैन । तटबन्ध गरिएको क्षेत्रमा नदीले बालुवासमेत थुपारेको छ । 
गतवर्षमात्रै सो स्थानमा नदीले हुलाकी राजमार्गसमेत कटान गरेको थियो । तर, यो वर्ष कटान रोकिएपछि राहत महसुस गरेको स्थानीय सुरज चौधरीले बताए । ‘हुन त अझै डेढ महिना जति बाढी आउने समय बाँकी नै छ’, उनले भने,‘तर, यो वर्ष अहिलेसम्म कटान भएको छैन । जेहोस, अगाडिका वर्षको तुलनामा राहत महसुस गरेका छौं ।’ 
कान्द्रा नदीले यसअघिका वर्षमा बस्तीतर्फ धेरै कटान गरिसकेको छ । नदीको कटानकै कारण कैयौं घरपरिवार विस्थापित भइसकेका छन् । गतवर्षमात्रै जोखिममा परेका केही परिवार हुलाकी राजमार्गमा विस्थापित भएका थिए । उनीहरुले पुरानो स्थानबाट घर अन्यत्र सारिसकेका छन् । 
नदीले गर्दै आएको कटान नियन्त्रण गर्नका लागि केही वर्ष अगाडि तारजालीको प्रयोग गरेर भौतिक तटबन्ध निर्माण गरिएको थियो । त्यसको बावजुद पनि कटान नियन्त्रण हुन सकेको थिएन । तटबन्ध अगाडि पछाडितिर कटान हुन थालेपछि त्यसमा जैविक तटबन्ध पनि थप गरिएको छ । भजनी नगरपालिकाको लगानीमा बाँसका्े प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरिएको छ । 
जैविक तटबन्ध निर्माण गरिएपछि यो वर्ष दुई÷तीन चोटी ठूलै बाढी आउँदा पनि कटान नभएको भागीराम चौधरीले बताए । उनले भने,‘अहिलेसम्म कटान रोकिएकाले यो वर्ष अलि आश पलाएको छ ।’
कान्द्रा नदीको ढिकमै रहेको लालबोझी जोखिममा रहेको गाउँ हो । घरभन्दा नदी केहि मिटरकै दूरीमा रहेको छ । ओभर फ्लो हुने गरी नदीमा बाढी आउने बित्तिकै बाढी घरमा पस्ने गरेको छ । बाढी र कटानको कारण दुःख पाउँदै आएका लालबोझीवासी यसवर्ष भने अहिलेसम्म केही राहतको स्वाँस फेर्न पाएका छन् । नदीमा बाढी नआउँदा आफूहरुलाई धेरै राहत महसुस हुने गरेको भागीरामको भनाइ छ । ‘तर, जोड जोडले पानी पर्न थाल्यो भने चिन्ता र त्रास बढ्न थाल्छ’, उनले भने ।