डडेल्धुरामा विमानस्थल निर्माण अब इआइएको काम अगाडि बढ्ने

डडेल्धुरामा विमानस्थल निर्माण अब इआइएको काम अगाडि बढ्ने

डडेल्धुरा । डडेल्धुराको समैजीमा विमानस्थल निमार्णका लागि वातावरणीय प्रभाव मूल्यांकन ( ईआईए)को काम अगाडि बढ्ने भएको छ। प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी थालिएको हो।

अजयमेरु गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका लागि एक दशक अघिदेखि प्रक्रिया अघि बढाइएको थियो। प्रारम्भिक चरणमा अध्ययन गर्दा १ हजार मिटरदेखि १५ सय मिटर सम्मको धावनमार्ग बनाउन सकिने सम्भावना देखिएको छ।

१ हजार मिटर लामो धावनमार्ग मात्रै बनाए विद्यालयलगायतका अन्य संरचना अधिग्रहण गर्न नपर्ने देखिएको अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीले बताए।
१५ सय मिटर लामो धावनमार्ग बनाए विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र पुईलेक बजारका संरचना अधिग्रहण गर्नुपर्ने प्राविधिक अध्ययनले देखाएको उनले बताए। ‘डडेल्धुराबाट काठमाडौं हवाई सेवा सुचारु गर्नका लागि धावनमार्ग १५ सय मिटर आवश्यक हुन्छ, हामी त्यसैका लागि पहल गरिरहेका छौं,’ उनले भने।

दक्षिण तर्फबाट मात्रै ल्याण्डिङ्गको सम्भावना देखिएको प्राबिधिक अध्ययन गरिरहेको आईएफआईडि नेपालका ईञ्जिनियर स्मरण भट्टले बताए।  नेपाल नागरिक उड्यन प्राधिकरणले १५ सयको धावनमार्ग बनाउदा करिब चार अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरेको छ। १ हजार मिटर लामो मात्रै धावनमार्ग बनाउदा करिब डेढ अर्ब रकम खर्च आउने अनुमान प्राधिकरणले गरेको विमानस्थल निर्माणमा अगुवाई गरेका समाजवादी पार्टीका नेता डा।तारा जोशीले बताए।