दार्चुलाको छाङरुमा टेलिकमका सामान  हेलिकोप्टरबाट ढुवानी

दार्चुलाको छाङरुमा टेलिकमका सामान  हेलिकोप्टरबाट ढुवानी

दार्चुला ।  दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ । छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो ।

अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ । टावरमा प्रयोग गरिने सोलार ब्याट्री, सोलार पाता र डिभाइसलगायत सामान हेलिकोप्टरबाट ढुवानी भइरहेको टेलिकम दार्चुलाले जनाएको छ ।

दुई दिन लगाएर हेलिकोप्टरबाट सामान ढुवानी भएसँगै अब टावर छिट्टै व्यासको छाङरुमा टेलिकमको फोरजी सेवा सञ्चालन हुनेछ । छाङरुमा फोरजी सेवा सञ्चालन गर्न प्राविधिक टोलीसमेत हेलिकप्टरबाट छाङरु गएको टावर जडान गरिरहेको सर्फटेक प्रालिका एमडी दिलभक्त महर्जनले बताए ।

चार प्राविधिकले अबको हप्ता या १० दिनमा छाङरुमा फोरजी सेवा सञ्चालन गरिने उनको भनाइ छ । अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काईफोन सेवा छ ।