संयुक्त ट्रेड युनियनका  माग प्रति घोडाघोडीमा कार्यरत कर्मचारीद्धारा ऐक्यबद्धता

संयुक्त ट्रेड युनियनका  माग प्रति घोडाघोडीमा कार्यरत कर्मचारीद्धारा ऐक्यबद्धता

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका कार्यरत कर्मचारीहरूले संयुक्त ट्रेड युनियन सञ्जालले राखेका ११ बुँदे मागहरूलाई ऐक्यबद्धता जनाएका छन् । कार्यालयको मूल गेटमा कालो ब्यानर टाँसेर मागहरूलाई ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेर विरोध जनाएका छन् ।

कर्मचारी मैत्री र सेवामैत्री हुने गरी सङ्घीय–प्रदेश स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर, कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर जस्ता ११ बुँदे मागहरू लागु गर्न संयुक्त ट्रेड युनियन सञ्जालले सरकारसँग अपिल गरेको छ ।

सरकारले तयार गर्न लागेको सङ्घीय निजामती सेवा ऐनमा ११ सूत्रीय मागहरू समावेश गराउन दबाब स्वरूप कार्यालयको मूल गेटमा ब्यानर टाँसेर मागहरूलाई ऐक्यबद्धता जनाउँदै विरोध जनाएको नगरपालिकामा कार्यरत कर्मचारीहरूले बताएका छन् ।

संयुक्त ट्रेड युनियन सञ्जालले देशैभर भाद्र ६ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरूमा कालो ब्यानर राख्ने र कर्मचारीहरूले हातमा कालोपट्टि बाँधी कामकाज गर्ने भनेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत मागहरूलाई ऐक्यबद्धता जनाउँदै विरोध जनाएको उनीहरूले बताएका छन् । संयुक्त ट्रेड युनियन सञ्जालले सङ्घीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।