नेपालबाट चोरी भएको दुर्गाको मूर्ति अमेरिकाबाट नेपाल ल्याइँदै

नेपालबाट चोरी भएको दुर्गाको मूर्ति अमेरिकाबाट नेपाल ल्याइँदै

काठमाडों । नेपालबाट चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै छ । न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र  म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए ।
एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४ औं शताब्दीदेखि १८ औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।


उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको हो । 

सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्विक वस्तु नेपाल फर्काइएको थियो । न्यूयोर्क स्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ