कैलालीमा दुई महिना देखि सडकमा बस्दै बाढी प्रभावित

कैलालीमा दुई महिना देखि सडकमा बस्दै बाढी प्रभावित

धनगढी  । वर्षाबाट जोगिने ठाउँ घर नै सबैभन्दा उपयुक्त हो । तर, कैलालीको भजनी नगरपालिका–५ पुलियापुरको स्थानीयका लागि भने ठीक उल्टो भएको छ ।वर्षा याम सुरु भएपछि त्यहाँका स्थानीयवासी घर छोडेर सडकमा पुगेका छन् ।

कान्द्रा नदीको बाढी घरमा पसेपछि उनीहरु घरभन्दा सडक सुरक्षित ठानेर त्यहाँ बस्न थालेका हुन । पुलियापुरका १२ दलित परिवार त्रिपाल टाँगेर दुई महिनादेखि हुलाकी राजमार्गमा बस्दै आएका छन् ।

‘घरमा पानी छ । घरको भित्ता ढलेका छन्’, स्थानीय सीता नेपालीले भनिन्,‘ घरमा बस्न नसक्ने अवस्था रहेका कारण बाध्यताले सडकमा आएका हौं ।’ भजनी नगरपालिका जिल्लामै सबैभन्दा बढी बाढी, डुवान समस्या हुने पालिका हो । यो नगरपालिकाका स्थानीयले बाढी विपद्बाट दुःख नपाएको सायदै कुनै वर्ष होला । प्राकृतिक विपद् समस्याग्रस्त यो पालिकाको पुलियापुर अझ सबैभन्दा होचो ठाउँ हो ।

वर्षा याम सुरु भएपछि कान्द्रा नदीको बाढी पुलियापुर गाउँमा बारम्बार पसिरहन्छ । घर आँगनमा जमेको पानी सुक्न स्थानीयले असोज नै कुर्नु पर्ने हुन्छ । तीन÷चार महिना बाढीले सताउने कारणले वर्षा याममा घर छोड्नु पर्ने बाध्यता सृजना भएको स्थानीय रतन कामीले बताए ।

‘कान्द्रा नदीको बाढी घरमा पस्यो भने घरभित्रै छातिसम्म पानी पुग्ने गरेको छ’, उनले भने,‘घर डुब्छ, खाना पकाउने दाउरा डुब्छ अनि कसरी घरमा बस्न सक्नू रु’ वर्षा याम सुरु भएपछि कुन राति बाढीले घर नै बगाउने हो भन्ने चिन्ताले पिरोल्न गरेको उनको भनाइ छ ।

घरमा बस्दा बाढीले बगाउने डरत्रासले पनि स्थानीय सडकमा पुगेका छन् । वर्षा याममा जोगिनका लागि कतिपय परिवारले ठाँटी बनाउने गर्दछन् । तर, पुलियापुरमा अधिकको घरमा ठाँटी छैन । जसको घरमा ठाँटी छैन, उनीहरु अहिले सडकमा त्रिपालमुनि बस्नु परेको छ । कतिपय घरहरुका भित्ता भत्किएका छन् ।

बाध्यताले सडकमा त्रिपालमुनिको बास बस्न पनि प्रभावितहरुलाई कम्ति दुःख छैन । सर्प, कीराको त्रास त छ नै, साथै आपराधिक मानसिकता भएका व्यक्तिको पनि । राति जाँडरक्सी खाएर आउने बद्मास प्रवृतिका मान्छेले जथाभावी मुख छाड्ने गरेकोेले डरत्रास रहेको कामी बताउँछन् । ‘त्यस्ता मान्छेले केही गर देलान कि भन्ने डर छ’, उनले भने ।

सडक छेउमा लहरै त्रिपाल टाँगेर गत असारबाटै बसिरहेका ती परिवारका त्रिपाल च्यातिएका छन् । हावापानीसंगै आएपछि जोगिन गाह«ो हुने गरेको छ । पानी पर्न थालेपछि त्रिपालमुनि खाना पकाएर खान पनि नमिल्ने गरेको सीता सुनाउँछिन् । ‘पानी पर्न थालेपछि खाना पकाउन बन्दैन’, उनले भनिन् ।

आफूहरु बस्दै आएको त्रिपाल कुहिएर च्यातिन थाले पनि अहिलेसम्म कसैले त्रिपालसमेत सहयोग नगरेको प्रभावितहरुको गुनासो छ । बाढी, डुवानका कारण रातको निन्द्रा र दिनको भोग हराएको उनीहरु बताउँछन् । ‘के गर्ने, कसो गर्ने केही सोच्नै सकिन्न’, सीताले भनिन् । रतन कामीका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ५ स्थित पुलियापुरमा बस्ती बसेपछि सुरुको दुई वर्षमात्रै बाढी गाउँमा पसेको थिएन । त्यसपछि लगातार कान्द्रा र मोहनाको बाढीले सताउँदै आएको छ ।

पुलियापुर सबैभन्दा होचो भू–भाग रहेकाले वर्षा यामभरि सो गाउँवासीले ठूलो दुःख भोग्ने गरेको भजनी नगरपालिकाका उपप्रमुख राजुदेवी तिरुवाले बताइन् । ‘उहाँहरुलाई साह«ै दुःख छ’, उपमेयर तिरुवाले भनिन्,‘वर्षा यामभरि गाउँमा पानी जमेको हुन्छ ।’

घरमा पसेको पानी निस्केपछि ती प्रभावितहरुलाई घरमै फर्काउने प्रयास गरे पनि नमानेको उनको भनाइ छ । ‘उहाँहरु घरमा जान नमानेपछि जबरजस्ती पठाउन पनि सकिएन’, तिरुवाले भनिन् । विपद्मा परेकालाई त्रिपाल सहयोग गर्ने स्थानीय विपद् व्यवस्थापन समितिले निर्णय गरेकाले ती परिवारहरुलाई नगरपालिकाबाट त्रिपाल सहयोग गरिने जनाइएको छ । ‘त्रिपाल कुहिएर समस्या भएको भनेर उहाँहरुले नगरपालिकालाई जानकारी गराउनु भएको छैन’, उपप्रमुख तिरुवाले भनिन्,‘तर, हामी सहयोग गर्छौ ।’