बैतडीमा मतदानस्थल र मतदान केन्द्रको अनुगमन

बैतडीमा मतदानस्थल र मतदान केन्द्रको अनुगमन

बैतडी । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा पनि तयारी थालिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितीका बिषयमा जानकारी लिनका लागि अनुगमन शुरु गरिएको हो । अगामी  मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर बुधबार डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको प्रशासनका सूचना अधिकारी भारतीले बताए । 

अनुगमनका क्रममा हालै पुनरवलोकन गरिएका मतदान केन्द्रहरुको अवस्थाका बारेमा जानकारी लिएको बताइएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । 

यस्तै अनुगमनका क्रममा केही स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि नभएको, कार्यालय व्यवस्थापनमा ध्यान नदिएको र खानेपानीको उचित प्रबन्ध नभएको समस्या देखिएका छन् । ती समस्या समाधानका लागि सम्बन्धित पालिकालाई आग्रह गरिएको र समन्वयका लागि स्वास्थ्य कार्यालयलाई आग्रह गरिएको भारतीले बताए ।