अतवारी पर्वको बिदा मिति संशोधन, भदौ १२ गते सार्वजनिक बिदा

अतवारी पर्वको बिदा मिति संशोधन, भदौ १२ गते सार्वजनिक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले अतवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेको छ । प्रदेश सरकारले  थारु समुदायको अतवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको छ । 

थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा लागू हुने गरी यसअघि, २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अतवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अतवारी पर्वको बिदा भदौं १२ गते दिने निर्णय गरेको हो ।  तिथिमिति अनुसार अतवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । 

थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेपछि प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । आउँदो आइतबार र सोमबार दुई दिन थारु समुदायले अतवारी पर्व मनाउने जनाइएको छ ।