बैतडीका क्लिनिकमा परिवार नियोजनका अस्थायी साधनको अभाव

बैतडीका क्लिनिकमा परिवार नियोजनका अस्थायी साधनको अभाव

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ स्थित सौडेखोला नगर क्लिनिकामा  परिवार नियोजनका अस्थायी साधनको अभाव भएको छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधनहरु पिल्स र डिपो सुईको अभाव भएको क्लिनिकमा कार्यरत सिनीयर अनमी द्रोपती बडुले बताइन् । 

गएको आर्थिक बर्षमा पनि सो स्वास्थ्य संस्थामा अस्थायी साधनको अभाव रहेको र यो बर्ष पनि अस्थायी साधनको अभाव रहेको उनले बताइन् । क्लिनिकमा डिपो र पिल्स नहुँदा सेवाग्राहीलाई फर्काउनुपर्ने बाध्यता रही आएको उनले सुनाइन् । उनले भनिन् ‘हामीलाई नगरपालिकाबाट आवश्यक औषधि र अस्थायी साधनहरु समयमा उपलब्ध हुँदैनन् । त्यसैले सेवा प्रवाहमा समस्या रहेको छ ।’

स्वास्थ्य संस्थामा अस्थायी साधनको अभाव भएपछि नेपाल परिवार नियोजन संघसंग मागेर अहिले काम चलाउने गरिएको बडुले बताइन् । परिवार नियोजनका साधन प्रयोगकर्ताहरुको संख्या अनुसार आपूर्तीमा समस्या रहेको छ । उनीहरुले खोजे जस्तो साधन उपलब्ध गराउन नसकिएको क्लिनिकमा कार्यरत अहेव उत्तम भट्टले बताए । 

नगर क्लिनिकमा औषधि र परिवार नियोजनका साधनको अभावका बिषयमा नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएको भएपनि पूर्ती हुन नसकेको उनले बताए ।