संसदीय निर्वाचनमा सुदूरपश्चिममा ६४ दल, देश भरी  ८७ दल भाग लिने

संसदीय निर्वाचनमा सुदूरपश्चिममा ६४ दल, देश भरी  ८७ दल भाग लिने

काठमाडौँ। संसदीय निर्वाचनमा ८७ राजनीतिक दलले भाग लिने भएका छन् भने चुनाव चिह्न ७९ वटा रहने भएको छ। ७५ वटा दलले एकल चिह्न र चार वटाले संयुक्त समूहबाट प्रतिस्पर्धा गर्नेछन्। एउटा समूहमा चार वटासम्म दलको गठबन्धन भएको छ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र चिह्नको क्रम निर्धारण टुंग्याएको छ।

यसअघिको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्या र निर्वाचन प्रयोजनका लागि निवेदन दिएको क्रम संख्याका आधारमा उम्मेदवारको चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।यो निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक मतपत्रको पहिलो नम्बरमा एमालेको निर्वाचन चिह्न सूर्य हुनेछ । दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा माओवादी र नेपाल समाजवादीको गोलाकारभित्र हँसिया–हथौडा रहनेछ। चौथोमा जनता समाजवादी ९जसपा० को छाता र पाँचौंमा राप्रपाको हलो चिह्न हुनेछ । छैटौंमा राष्ट्रिय जनमोर्चा र सातौंमा नेमकिपा रहनेछ।

स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलका आधारमा जसपापछि रहेका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा पछाडि धकलिएका छन्। मतपत्रमा ३३ औं स्थानमा एकीकृत समाजवादीको कलम चिह्न रहनेछ । जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादीको साइकल चिह्न २६ औं स्थानमा रहने भएको छ । ०७४ को निर्वाचनमा दलले प्राप्त गरेको समानुपातिक मतका आधारमा सात वटा पार्टीपछि दल दर्ताका लागि निवेदन दिने दलको नाम रहने भएको छ । आयोगमा निवेदन दिनेमा पहिलो नम्बरमा जनमत पार्टी थियो । अन्तिममा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको थियो । मतपत्रमा पनि यो पार्टीको गोलाकारभित्रको घण्टी अन्तिममा रहने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन परेकामा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन परेको थियो । ‘७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सुदूरपश्चिम प्रदेशमा ६४ दल सहभागी हुने जनाए। यस्तै प्रदेश १ मा ७०, मधेसमा ७५, वाग्मतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुनेछन्। लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ६४ दल सहभागी हुने आयोगले जनाएको छ। आयोगका अनुसार चार वटा पार्टी एकल निर्वाचन चिह्नमा सहभागी हुने भएका छन्। दलहरूले माग गरेको एकल चिह्न प्रदान गर्ने आयोगले निर्णय गरेको हो।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) नेपालले आगामी निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रयोग गर्नुपर्ने भएको छ । थापाले चुनाव चिह्न गाई पाउनुपर्ने माग गर्दै आएका थिए। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि चुनाव चिह्न ‘तीर’ नै प्रदान गरेको हो । स्थानीय तह निर्वाचनमा भने थापाले नै तीर रोजेका थिए। राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले गत फागुन ७ मा राप्रपा नेपाल घोषणा गरेका थिए। आयोगले ०७४ मा ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले भाग लिएका थिए भने तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा पनि ६३ दलले मात्रै भाग लिएका थिए ।