कांग्रेस कैलालीमा बढ्यो विवाद, सभापतिले एकलौटी गरेपछि तनाव

कांग्रेस कैलालीमा बढ्यो विवाद, सभापतिले एकलौटी गरेपछि तनाव

धनगढी ।  नेपाली कांग्रेस कैलाली पदाधिकारी तथा सदस्यहरूबीच विवाद बढ्दै गएको छ। जिल्लाको १४ औँ अधिवेशनका बेलादेखि सुरु भएको संस्थापन पक्षकै दुई धारको विवाद अहिले कार्यसमितिमा देखिन थालेको हो।

पार्टीलाई थप क्रियाशील र जिल्लामा प्रभावकारी बनाउन विभिन्न समयमा बसेको जिल्लाको बैठकमा एक पक्षीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता गराइ निर्णय गरिने गरेको पार्टीभित्र आरोप लागिरहेको छ।

कैलाली कांग्रेसको स्थानीय तहको निर्वाचनपश्चात तीन पटक बैठक बसेको छ। तर, पार्टी सभापति नारायण दत्त भट्ट समूहले अर्को पक्षलाई नबोलाई विभिन्न निर्णय गरेको आरोप लागेको हो। कांग्रेस कैलालीले विभिन्न विभाग गठन गरेको छ। पार्टीको जिल्ला बैठकले पार्टीलाई थप क्रियाशील बनाउन पाँच वटा विभाग गठन गरेको सभापति नारायणदत्त भट्ट समूहबाट निर्वाचित सचिव केशव मिश्रले बताए।

पार्टीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको बैठकले अनुशासन समिति, प्रचार प्रसार शाखा, संगठन शाखा, प्रशिक्षण शाखा र लेखा समिति गरी पाँच वटा विभाग गठन गरेको सचिव मिश्रले जानकारी दिए। उनका अनुसार पार्टीका जिल्ला सदस्य सन्तोष मुडभरीको संयोजकत्वमा अनुशासन संमिति गठन गरिएको छ। सो समितिमा जिल्ला सदस्य सुशील शाही र गोहनी चौधरी सदस्य रहेको सचिव मिश्रले जानकारी दिए।

बैठकले जिल्ला सदस्य तपेन्द्र भुषालको संयोजकत्वमा प्रचार९प्रसार शाखा, जिल्ला सदस्य देवानन्द जैशीको संयोजकत्वमा संगठन शाखा, जिल्ला सदस्य हस्ता भण्डारीको संयोजकत्वमा प्रशिक्षण शाखा गठन गरिएको उनले बताए। जिल्ला सदस्य टंकप्रसाद जोशीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ। सो समितिमा लोकेन्द्र ऐर र हरीदत्त भट्टराई सदस्य रहेका छन्।

नेपाली कांग्रेस कैलाली सचिव नृपबहादुर सुनारले सभापतिले एकलौटी ढंगले गठन गरेको विभागहरू आफ्नो समूहलाई मान्य नहुने बताए। कांग्रेस कैलालीका नेता प्रकाश बम समुहले सभापति भट्टले गठन गरेको विभागहरू मान्य नहुने बताएका हुन्। सचिव सुनार पनि बम समूहबाट निर्वाचित भएका थिए।