प्रदेशसभा सोमवार सम्मका लागि स्थगित

प्रदेशसभा सोमवार सम्मका लागि स्थगित

अतरिया भदौ १० ।  सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशनको २५औं बैठक तीन दिनका लागि स्थगित गरिएको छ। 

शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको बैठक विशेष कारण भन्दै सभामा सूचना टाँस गरेर सोमबार सम्म स्थगित भएको जानकारी दिइएको हो।

‘शुक्रबार ३ बजे बस्ने गरी तोकिएको प्रदेश सभाको बैठक विशेष कारणबस स्थगित भई उक्त बैठक १३ गते सोमबार दिनको ३ बजे बस्ने भएको व्यहोरा सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ।

प्रदेश सभामा शुक्रबार ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची रहेको सभामुख अर्जुनबहादुर थापाले बताए।

सभामुख थापाले प्रदेश सरकारका मन्त्रीको सहभागिता नहुने भएपछि शुक्रबार आह्वान गरेको बैठक स्थगित गर्नु परेको बताए। उनले भने, ‘निर्वाचनको मिति नजिकिएसंगै प्रदेश सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरुको सभामा उपस्थिति पातलिदै गएको छ। सभामा सहभागिता सदस्य संख्या घट्ने भएपछि बैठक स्थगित गरिएको हो।’ 

उनले सरकारको महत्वपूर्ण रुपमा मानिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल गराउनुपर्ने भएकाले बैठक केही दिन पर सारिएको बताए।

वर्तमान प्रदेशसभा सदस्यहरुको कार्यकालको अन्तिम अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशनमा प्रक्रियामा रहेका विधेयकहरु पारित गराउने गरी काम भइरहेको उनले बताए। 

प्रदेश सभामा हाल प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रक्रियामा छन्।