धनगढी नेत्रालयको  ५ औँ वार्षिकोत्सव

धनगढी नेत्रालयको  ५ औँ वार्षिकोत्सव

धनगढी । धनगढी नेत्रालय आँखा अस्पतालको  ५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।  धनगढीको चटकपुरमा रहेको नेत्रालयले शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

५ औँ वार्षिकोत्सवको अवसरमा  अस्पतालको वेबसाइट पनि लन्च गरेको छ ।  अस्पतालले स्थापनाकाल देखि हाल सम्म गरेका क्रियाकलापबारे तयार पारिएको पुस्तकको समेत  विमोचन गरिएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्काले अस्पतालले आँखा सम्बन्धी बिरामीहरूलाई गुणस्तरीय सेवा सुपथ मूल्यमा सहज रुपमा प्रदान गरिरहेको र अब धनगढीका बासिन्दाले आँखा उपचारको लागि टाढा जानु नपर्ने भन्दै सन्तुष्टि व्यक्त गरे ।

नेपाल नेत्रज्योति सङ्घ कैलालीका सभापति एवं गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्तले गेटा आँखा अस्पताल पनि स्थापनाकालमा सानो स्वरूपमा रहे पनि पछि आएर विशाल अस्पतालको रूप लिएकोले धनगढी नेत्रालयले पनि समय सँगै अझै विकास गर्दै जाने विश्वास व्यक्त गरे ।

सो अस्पतालले ५ वर्षको अवधिमा अस्पताल र आँखा शिविरहरू गरी २ लाख २० हजार भन्दा बढी व्यक्तिहरूको आँखा जाँच गरिसकेको छ भने लगभग १८ हजार जनाको शल्यक्रिया गरिसकेको छ जसमध्ये १२ हजार भन्दा बढी निस्शुल्क शल्यक्रिया रहेका छन् ।

यस्तै च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा अस्पतालले २५ हजार भन्दा बढी निश्शुल्क नजिकको लेखपढ गर्ने चश्मा वितरण गरिसकेको छ  ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजसेवी चक्र बहादुर सिंहले अन्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश देशका अन्य केही क्षेत्र भन्दा पछि परे पनि आँखा स्वास्थ्यका हिसाबले अन्य क्षेत्रहरू भन्दा अग्र स्थानमा रहेको भन्दै खुसी व्यक्त गरे ।

अस्पतालका अध्यक्ष गजेन्द्र बहादुर चन्दले अस्पतालले भविष्यमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा। सुजाता भण्डारी, वरिष्ठ नेत्र विशेषज्ञ डा। रबिधर भण्डारी, च्यारच्यार हेल्थ फाउन्डेसन नेपालका महासचिव लक्ष्मीकान्त ढकाल, कोषाध्यक्ष राधा चन्द, कार्यक्रम संयोजक त्रैलोक्यनाथ पाण्डेय एवं अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।