कैलाली - कञ्चनपुरमा काल बन्दै छाडा पशु चौपाया

कैलाली - कञ्चनपुरमा काल बन्दै छाडा पशु चौपाया

अतरिया । कैलालीमा छाडा पशु चौपायो कारण  मानिषहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।  धनगढीको छ लेन सडक खण्डमा  गत साता सोमबार राती छाडा पशु चौपायासंग मोटरसाइकल ठोक्किदा धनगढी उपमहानगरपालिका १३ बस्ने ३० बर्षिय  गङ्गा बोगटीले अकालमै ज्यान गुमाउनु पर्यो । दुर्घटनमा परी मृतककी श्रीमती पछाडि सवार सर्मिला राई पनि घाइते भएकी हुन । 
यति मात्रै नभई यस्ता घटना त हप्तौ पिच्छे भईरहन्छन । अत्तरियाबाट धनगढीतर्फ आउने क्रममा छ लेन सडकमा रहेका चौपायामाथि मोटरसाइकलहरु बढी ठोकीने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

गएको साउन १२ गते पनि छ लेन सडक खण्डमा सोही स्थानमा त्यस्तै दुर्घटना भएको थियो । अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको मोटरसाइकल छाडा पशु चौपाया संग ठोक्किदा पछाडि सवार धनगढी उपमहानगरपालिका–१ का ५५ वर्षीय निर्मल हमालले ज्यान गुमाउनु पर्यो  । मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का   ४४ वर्षीय वीरेन्द्र शर्मा भने घाइते भएका थिए ।

पछिल्लो एक महिना यता छाडा चौपायाका कारण भएका यी त केही उदाहरण मात्रै हुन। कैलालीमा अहिले छाडा चौपायाले गर्दा सडक दुर्घटना बढ्दै गएको छ । 

सवारी साधनको ठक्करबाट छाडा चौपायाको मृत्यु हुनेक्रम पनि बढ्दो रहेको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अतरियाका अनुसार गत आर्थिक वर्षभरि छाडा चौपायाकै कारण कैलाली, कञ्चनपुरमा ३० वटा सडक दुर्घटना भयो । दुर्घटनामा दुई जना मान्छेको ज्यान गयो भने, ३३ जना सवारी चालक र सवार व्यक्ति घाइते भए । 

गत आर्थिक वर्षभरि सवारी साधनमा ठोक्किएका २५ छाडा चौपायाको ज्यान गएको थियो भने पाँच छाडा चौपाया घाइते भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म छाडा चौपायाले गर्दा पाँच वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जुन दुर्घटनामा दुई जना मानिसको ज्यान जानूका साथै पाँच जना घाइते भएका छन् । 

यस बिषय भने सरोकावाला निकाय तथा स्थानीय तहहरुको  टाउको दुखाइको विषय बनेको छ । 
छाडा चौपाया सडक दुर्घटना न्यूनीकरणमा ठूलो चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सिंहले बताए । छाडा गाईगोरुका कारण दिनानुदिन दुर्घटना बढेदै गईरहेको छ । 
‘ट्राफिक प्रहरी एक्लै लागेरमात्रै दुर्घटना न्यूनीकरण हुँदैन ,  उनले भने हामी सक्दो प्रयास गरिरहेका छौं । तर, नियम बनाउने, नियमन गर्ने सबै निकायसहित हरेक तह र तप्काबाट छाडा चौपाया व्यवस्थापनको काम हुन जरुरी छ ।’