बैतडी समाज कैलालीले आयोजना गरेको वृहत् रक्तदान महोत्सवमा ८५ जनाद्वारा रगत दान, ५५० जना लाभान्वित

बैतडी समाज कैलालीले आयोजना गरेको वृहत् रक्तदान महोत्सवमा ८५ जनाद्वारा रगत दान, ५५० जना लाभान्वित

धनगढी । बैतडी समाज कैलालीले आयोजना गरेको आठौँ बृहत् रक्तदान महोत्सवमा ८५ जनाले रगत दान गरेका छन् । शनिवार रक्त दान जीवनदान भन्ने मूल नाराका साथ बैतडी समाजको सचिवालय पद्मा नर्सिङ कलेजको प्राङ्गणमा बिहान ९ बजे देखि भएको कार्यक्रममा ८५ पिन्ट रगत सङ्कलन भएको हो । 

उक्त महोत्सवमा आँखा शिविर, दन्त शिविर र स्वास्थ्य शिविर समेत राखिएको थियो । जस अन्तरगत आँखा शिविरबाट तीन सय १८ जना लाभान्वित भएका छन् । भने एक सय एक जनाले चस्मा प्राप्त गरेको र ११ जनाले सर्जरी सेवा प्राप्त गर्ने समाजका कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिए । 

यस्तै, दन्त शिविरबाट ७७ जनाले सेवा लिएका छन् । भने स्वास्थ्य शिविरबाट एक सय ५५ जनाले स्वास्थ्य जाँच र एक महिना पुग्ने औषधि प्राप्त गरेको चन्दले बताए । 

उक्त कार्यक्रममा धनगढी नेत्रालयले निःशुल्क आँखा चेक जाँच तथा निःशुल्क औषधि र नजिकको नजर  चस्मा  वितरण गर्नुका साथै मोतीबिन्दु, र अन्य शल्यक्रिया  गर्नु पर्ने आँखाका बिमारीको निःशुल्क शल्यक्रिया गरी उपचार गर्न सहयोग गरेको थियो । 

त्यस्तै, महोत्सवमा समृद्धि डेन्टलद्दारा  निःशुल्क दन्त परीक्षण र आवश्यक परामर्श र उपचारमा १५ प्रतिशत छुट सेवा दिइएको छ । भने सारथि अस्पताल प्रा लि द्वारा निःशुल्क स्वास्थ्य शिविर अन्तरगत  सुगर, प्रेसर र दमको जाँच गरी यी बिरामीलाई एक महिनाको औषधी निःशुल्क सेवा प्रदान गरिएको बैतडी समाज कैलालीले जनाएको छ । 

यसका साथै बैतडी समाज कैलालीले आफ्नो स्थापना काल देखि नै  विभिन्न सामाजिक परोपकारका कार्यहरूमा र आजको कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता एवम् सहयोगी हातहरूमा समाजका कार्यक्रम संयोजक चन्दले हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।