हमाल काँग्रेसको कार्यकर्ता जस्तो देखिए : रणबहादुर चन्द

हमाल काँग्रेसको कार्यकर्ता जस्तो देखिए : रणबहादुर चन्द

उहाँ(गोपाल हमाल)का कामका सबल पक्ष र दुर्बल पक्षको बारेमा धेरै कुरा आउने समय त भइसकेको छैन । तर पनि उहाँले स्वतन्त्र भनेर भोट माग्नु भयो र विजयी हुनुभयो । यद्यपि यो अवधिमा नेपाली काँग्रेसको कार्यकर्ताको रूपमा प्रस्तुत भएको देखियो । 

चाहे जिल्ला समन्वय समिति(जिसस)को निर्वाचनको कुरा होस् या धनगढी उप–महानगरपालिकाका बोर्डका निर्णयहरू गर्दा त्यहाँ उपस्थित राजनीतिक दलहरूको सहमति सहकार्य भन्दा पनि एक खालको बल मिचाई गरेको भन्ने बाहिर आएको छ । यो कुरा चाहिँ त्यति राम्रो भएन । अब कामका सन्दर्भमा के सुझाव दिन चाहन्छु भने निर्णय गर्नु भन्दा अगाडि सम्बन्धित पक्षहरूसँग व्यापक छलफल परामर्श गरेर मात्रै निर्णयमा पुग्दा उपर्युक्त हुन्छ । 

कार्यपालिकामा बहुमतबाट निर्णय हुने कुरालाई हामी पनि समर्थन गर्छौ । मैले भन्न खोजेको के हो भने, उहाँले स्वतन्त्र भनेर विजयी भरसके पश्चात् व्यवहार गर्ने वेला चाहिँ काँग्रेसको नेता कार्यकर्ता जस्तो व्यवहार गर्नुभयो । यो कुरा मैले इङ्गित गरेको हो । उहाँ स्वतन्त्र रूपमा रहनुभयो र सहीलाई सही, गलतलाई गलत भन्यो भने हामी पनि समर्थन गर्न तयार छौँ  । उहाँलाई जनताले विजयी गराइसके पछि उहाँ काँग्रेसको मात्रै मेयर नभएर यहाँका सबै जनताको मेयर हो । सबै नगर बासीको मेयर हुनका लागि चाहिँ उहाँले छलफल सहकार्य बाट भूमिका निर्वाह गर्नुपर्‍यो । त्यो पाटो उहाँमा देखिएन । 

उहाँले भोट चाहिन् स्वतन्त्रबाट माग्ने तर पक्षपोषण चाहिन् काँग्रेसको गर्ने भएपछि मतदाताहरूको मतको अपमान भएन र?
  
उहाँले एक दुई वटा कामहरू अगाडि बढाएको देखिन्छ । जस्तै अतिक्रमित नालाहरू खेल्ने सन्दर्भमा हाम्रो पार्टीको पनि पूर्ण समर्थन छ र रहने छ । तर उहाँले यो कामहरू गर्दा पनि सबै राजनीतिक दल र सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई बोलाएर छलफल परामर्श गर्न जरुरी छ । जुन गैर कानुनी रूपमा दर्ता भएका सार्वजनिक जग्गाहरूलाई कानुनी रूपमा खुल्ला गरेर त्यसपछि मात्रै उहाँले हात हाल्दा राम्रो हुन्छ । तर उहाँले चर्चाको लागी हाल्नुभयो । त्यसैले अवरोध आयो । यसका लागि व्यापक छलफल र परामर्श गर्न जरुरी छ । यी विषयहरूलाई मेयर सापले पनि धनगढीमा रहेका राजनीतिक दलहरूसँग सहमति कायम गरेर अगाडि बढ्नुपर्छ । 

छोटो समयमा कामहरू धेरै नराम्रो मात्रै भयो भन्नु हुँदैन । राम्रा कामहरू पनि केही भएका छन् । स्वास्थ्य क्षेत्रमा केही गाउँघर क्लिनिकहरू चलाउने काम पनि राम्रो भएको छ । त्यसप्रति पनि नागरिकको आकर्षण बढेको छ । तर सरकारी कोष बलियो नबनाउँदा सम्म तल्लो, निम्न आय भएका व्यक्तिहरूले स्वास्थ्य सुविधा पाउन सक्दैनन् । त्यसो भएर हाम्रा सरकारी स्वास्थ्य संरचनाहरूलाई बलियो बनाउनुपर्छ ।

त्यसैले स्थानीय निकायले सरकारी संरचनाहरूको निर्माण, सुधार  गर्ने कामहरूलाई प्राथमिकता दिनुपर्छ । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने पनि सरकारी सेवाका शिक्षकहरूको पारिश्रमिकको विषय र गुणस्तर वृद्धि विकास गर्न सकेनौँ भने राम्रो शिक्षा प्राप्त हुन सक्दैन । त्यतातिर पनि नगरपालिकाको ध्यान जान जरुरी छ । 

यो अवधिमा त्यस्तो चिन्ता मान्नुपर्ने बेला भएको छैन । अनुभवको विषय पनि होला । विभिन्न खाले निजी क्षेत्रबाट आउनुभयो । अहिले उहाँ यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ । अहिले नै धेरै आलोचना गर्नुपर्ने समय पुगेको छैन भन्ने मलाई लाग्छ । 

आम नगर बासीको जुन अपेक्षा छ । त्यो अपेक्षालाई पुरा गर्न सक्नु पर्छ । निर्वाचनका बेलामा जनताले जुन अपेक्षाले मतदान गरे त्यो मतदानको उहाँले सम्मान गर्नुपर्दछ । 

स्वाभाविक रूपमा जिम्मेवारी पाइसके पछि हाम्रो सम्पूर्ण रूपमा उहाँलाई सहयोग समर्थन रहन्छ । राजनीतिक कार्यकर्ताका हिसाबले, प्रतिपक्षीको हैसियतले अथवा हिजोका दिनमा एउटा मेयरको उम्मेदवारका हैसियतले जुनसुकै तवरबाट पनि सहयोग गर्न तयार छु । तर उहाँले परामर्श छलफल र सहकार्यको वातावरण उहाँले सिर्जना गर्नुपर्दछ । 
धनगढी उप–महानगरपालिका सुदूरपश्चिमको केन्द्रबिन्दु तथा  राजधानी  पनि हो । यसलाई संरचना, सेवा सुविधाका हिसाबले पनि हामीले सम्पन्न बनाउनु पर्दछ । शिक्षाको, स्वास्थ्यका, व्यापारका, उद्योग, पर्यटन, कृषि, खानेपानी, नाका व्यवस्थापन, बजार व्यवस्थित बनाउने हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ । यसमा हामीले उहाँलाई सहयोग गर्न तयार छौँ । यसमा सङ्घ प्रदेश सरकारको भूमिका रहन्छ । त्यसका लागी पनि हामी पहल गर्छौँ । यो नगरलाई एउटा सफा र व्यवस्थित सहर बनाउनको निम्ति चुनावअघि जुन सङ्कल्प लिएर हिँडेका थियौँ, अहिले पनि त्यसै गरी दृढ सं कल्पित छौँ र हामी एकीकृत भएर लागेका छौँ । 

(रणबहादुर चन्दसँग धनगढी खबरका समीर प्रसाद भट्टले गरेको कुराकानीमा आधारित)