कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा

कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका कार्यालयको भवन ५ महिना अगाडी उद्घाटन गरिएको भएपनि निर्माण कार्य भने अझै सकिएको छैन । भवन निर्माणाधिन अवस्थामै रहेको बेला गत बर्षको चैत्र १४ गते तत्कालिन गोदावरी नगरपालिकाका मेयर हरी सिह साउँदले उद्घाटन गरेका थिए । उक्त समयमा करिब ८५ प्रतिशत मात्रै काम सकिएको थियो । निर्माणाधिन भवनको उद्घाटन गर्न लागिएको भन्दै चर्को बिरोध गरिएको भएपनि मेयर साउँदले कडा सुरक्षाका बिच भवनको उद्घाटन गरेका थिए ।

सोही दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सयुक्त पत्रकार सम्मेलन गरेर निर्माणाधिन भवनको उद्घाटन गरिएको भन्दै पुनः भवनको उद्घाटन गर्ने घोषणा गरेका थिए । एशियाली विकास बैंक एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत निर्माण भइरहेको उक्त भवन नगर प्रमुख साउँदले दातालाई जानकारी नदिई उद्घाटन गरेका थिए । उक्त भवन अझै नगरपालिकालाई हस्तान्तरण गरिएको छैन ।

हाल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको क्षेत्रिय सहरी विकास आयोजना धनगढी कार्यालयका इन्जिनियर द्रोण कटुवालले बताएका छन । उनले भवनको काम ९८ प्रतिशत भन्दा बढी सकिएको बताए ।

‘हामीले काम करिब करिब सकिन लागेको छ । हामीले २/३ दिन भित्रमा भवनको सयुक्त रुपमा अवलोकन गरेर भवन हस्तान्तरणको तयारी गरेका छौ’ उनले भने ‘भवनमा बाँकी रहेको रंगरोपन र फिनिसिङको काम चलिरहेको छ ।’

भवन निर्माणका लागि एम एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुमा गरिएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिने उल्लेख छ । पछि पटक पटक गरेर ३ पटक थपिएको म्याद पनि जेठ मसान्तमा सकिसकेको छ । कोरोना महामारीको कारण देखाउँदै भवन निर्माणको म्याद स्वतः थपिएको थियो ।

नगरपालिकाको भवन निर्माणका लागि गोदावरी नगरपालिका – २ तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरिद गरिएको थियो । हाल गोदावरी नगरपालिकाको आफ्नै भवन नहुदाँ अत्तरियाको धनगढी रोडमा रहेको निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ ।

एडिबी कै सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत गोदावरी नगरपालिकामा एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र निर्माण र सडक निर्माणको काम जारी रहेको छ ।