बाजुराका मल्ल खर्च अभावमा तड्पिँदै

बाजुराका मल्ल  खर्च अभावमा तड्पिँदै

बाजुरा । उपचार खर्च जुटाउन नसकेपछि बाजुराका एक क्यान्सरपीडित युवक ६ वर्षदेखि जीवनसंँग संघर्ष गरिरहेका छन् । बाजुराको बुढीनन्दा नगरपालिका–५ छातीकोटका २४ वर्षीय विनोद मल्ल आर्थिक अभावमा उपचार नपाएर तड्पिएका हुन् । रक्तक्यान्सरबाट पीडित उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको कारण उपचार खर्च जुटाउन कठिनाइ भएको हो । ६ वर्षअघि उनलाई क्यान्सरको संक्रमण भएको पत्ता लागेको थियो । अहिलेसम्म उपचार गर्दा भएको सम्पत्ति सकिइसकेको परिवारले जनाएको छ ।

२०७२ सालमा एसएलसी परीक्षा दिएपछि उनको पेटमा समस्या आएको थियो । बाजुरामा उपचार सम्भव नभएपछि भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । त्यसबेला मल्ल १८ वर्षका थिए । एसएलसीपछि उच्च शिक्षा पढ्ने र आमाबाबुको सपना पूरा गर्ने उनको धोको रहेको बताउने उनले क्यान्सरका कारण सबै सपना चकनाचुर भएको बताए । ‘पढाइ राम्रै थियो । एसएलसी पास गरेपछि राम्रोसँग पढेर जागिर गर्छु र आमाबुबालाई सुख दिन्छु भन्ने सपना थियो । क्यान्सरले सबै खतम गरिदियो,’ उनले भने, ‘मेरो उपचार गर्दा भएको सबै श्रीसम्पत्ति बेच्नुपर्‍यो । अहिले परिवारले पनि मागेर खानुपर्ने अवस्था छ ।’

हाल पाटन हस्पिटलमा उपचाररत उनको ५ जनाको परिवार छ । घरको जेठो छोरा नै ६ वर्षदेखि अस्पतालको शय्यामा भएपछि आमाबुबाले आफ्नो भएभरको जेथा उनको उपचारमा खर्च गरिसकेका छन् । उनलाई पूर्णरूपमा निको हुनका लागि अझै २० लाखसम्म लाग्न सक्ने चिकित्सकले बताएका छन् । उनको उपचार गर्ने क्रममा सबै सम्पत्ति सकिएपछि अन्य भाइहरूको पठनपाठन र दैनिक गुजरामा पनि समस्या भएको उनकी दिदी वसन्ती शाहीले बताइन् । उपचार गर्दा रोग निको हुने भए पनि खर्चकै अभावमा आफूले जीवन गुमाउनुपर्ने अवस्था आएको बताउँदै जीवनरक्षाका लागि मल्लले मनकारी दाताहरूबाट सहयोगको अपेक्षा गरेका छन् । ‘मेरो उपचार गर्दा मेरो परिवार ऋणमा डुबिसकेको छ । मलाई तलमाथि भयो भने सबैको बिचल्ली हुनेछ,’ उनले अनुरोध गर्दै भने, ‘कोही दाता भेटिनुहुनेछ र मेरो जीवन बचाइदिनुहुनेछ भन्ने आशामा अस्पतालमा कुरिरहेको छु ।’