सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित

सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित

धनगढी । सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ। 

शुक्रबार बसेको प्रदेश सभा बैठकले सर्वसम्मतले सो विधेयक पारित गरेको हो। यसअघि, सो विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर, बलबहादुर सोडारी, शान्ति नेपाली र मालामती रानाथारुले भाग लिनु भएको थियो।  

सुदूरपश्चिम प्रदेश सभाबाट ६७ वटा विधेयक पास भएका छन् । पास भएकामध्ये ६४ विधेयक प्रमाणीकरण भएको र पछिल्लो समय पास भएका तीन वटा विधेयक प्रमाणीकरण हुन बाँकी रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो। 

सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण हुन बाँकी रहेको छ ।