काँग्रेसको कारबाहीमा परेका पूर्व महाधिवेशन प्रतिनिधि खत्री एमाले प्रवेश

काँग्रेसको कारबाहीमा परेका पूर्व महाधिवेशन प्रतिनिधि खत्री एमाले प्रवेश

दार्चुला / नेपाली काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारवाही गरेका पूर्व महाधिवेशन प्रतिनिधि उमेश सिंह खत्री लगायत नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा नेपाली काँग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र र जनमोर्चाबाट नेता तथा कार्यकताहरु एमाले प्रवेश गरेका हुन् । यस्तै एमाले प्रवेश गर्नेहरुमा नेकपा समाजवादी दार्चुलाका प्रदेश कमिटि सदस्य इन्द्रसिंह विष्ट, नेपाली काँग्रेस शैल्यशिखर नगर उपसभापति मान सिंह खडायत, नेविसंघ दार्चुलाका नेता दिपक खातीसहित चार दर्जन नेता कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेल, सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, सह ईन्चार्ज गणेश सिंह ठगुन्ना, नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य लिलाधर भट्टसहितका नेताले अबिर खादा पहिर्याउदै पार्टीमा स्वागत गरेका हुन । नेकपा एमालेद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले गुमेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ । सीमा रक्षा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा सुरु भएको बताउँदै उनले मंसिर ४ को निर्वाचन एमालेले जितेर भूमि फिर्ता ल्याउने बताए । अहिलेको पाँच दलिय गठबन्धन सरकारलाई उनले माफियातन्त्र, जनबिरोधी र कमिशन खोरको संज्ञा दिनुभयो ।