निर्वाचनको मुखमा आले र जोशीले सम्झिएको ‘दिपायल राजधानी’

निर्वाचनको मुखमा आले र जोशीले सम्झिएको ‘दिपायल राजधानी’

डोटी प्रदेश सभा (२)की समानुपातिक सांसद तथा एकिकृत समाजवादी पार्टीको डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले गत शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै दिपायल राजधानी बनाउन खुलेर लाग्न नसक्दा पछुतो भएको बताईन । 

सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेकी जोशीले राजधानी र नामाकरणका बेला ख्याल नपुर्‍याएको र जनमत विपरित दलको ह्विप मानेर ‘गोदावरी राजधानी’ मा हस्ताक्षर गरेकोमा पछुतो व्यक्त गरिन् । 

उनले भनिन्, ‘प्रदेशसभामा बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को ह्विप लगाएर बहुमतका आधारमा प्रदेशको राजधानी र नाम टुगों लगायो । ह्विप मानेर हामीले गोदावरी राजधानीका पक्षमा मतदान गर्‍यौँ तर आज नगरेको भए हुने थियो भन्ने पछुतो भएको छ ।’

जोशीको यो भनाई आएको दुई दिनपछि डोटीका संघीय सांसद प्रेमबहादुर आलेले पनि त्यही कुरा दोहोर्याए । 

सोमबार डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यास गर्दै आलेले भने, ‘मैले दिपायलमा राजधानी राख्न नसके सांसद पदनै त्याग्ने घोषणा गरेको थिए तर राजिनामा भने गरेन् ।’

यी दुबै सांसदमा तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपाको बहुमत थियो । संघ र प्रदेश दुबैमा नेकपाको बहुमत थियो । न संघमा प्रेम आलेले दिपायल राजधानी बनाउँनुपर्ने कुरा दह्रो गरि उठाउँन न प्रदेशमा जोशीले नै । पार्टीको ह्विपलाई दोष दिएपनि जोशीले त झन गोदावरीलाई राजधानी बनाउँनुपर्ने कुरामा टेबुल नै पिटिन ।

आले अहिले त्यसबेला बहुमत भएपनि दिपालय राजधानी बनाउँने कुरा लागु गर्न नसक्नु दुर्भाग्य मान्छन् । 

‘त्यो बेला हाम्रो पार्टीको अध्यक्ष कमरेड केपी ओली हुनुहुन्थ्यो र पार्टीको बहुमतपनि थियो त्यही बेला मैले उहाँलाई भेटेर प्रदेशको केन्द्रभाग दिपायल हो त्यहाँ राजधानी राख्नुपर्छ भनेको थिए,’ आलेले भने, ‘त्यो बेला सकारात्मक हुनुहुन्थ्यो दुर्भाग्यबस बहुमतकै सरकारका बेला गोदावरी राजधानी तोकियो ।’

अहिले आले र जोशी दुवै एमालेबाट फुटेर अलग भएको माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा पुगेका छन् । जोशी प्रदेशमन्त्री समेत भईन भने आले संघीयमन्त्री नै भए । 

तर यसअवधिमा आले र जोशीबाट यसरी सार्वजनिक कार्यक्रममा दिपायललाई राजधानी बनाउँनुपर्छ भन्ने कुरा यदाकदामात्रै उच्चारण भएको पाइन्छ । तर मंसिर ४ मा तोकिएको चुनावका लागि भने दुवै नेताले प्रदेश राजधानीलाई चुनावी मुद्दा बनाउँन खोजेका छन् । 

उद्योग बाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्का उसबेला सबै नेताले मिलिभगतमा तराईमा राजधानी बनाउँन भोट गरेको र अहिले चुनावी एजेन्डा बनाउँन खोजेको बताउँछन् ।
 
‘यो सबै मिलिभगत हो । त्यसबेला सबै नेताहरुले तराई राजधानी हुनुपर्छ भन्नेमा जोड र भोट दिए,’ दिपालय राजधानी बनाउने अभियानका अभियान्ता समेत रहेका खड्का भन्छन्, ‘चुनाबका बेला मात्रै राजधानी  एजेन्डा बनाएका हुन् । जितेपछि डोटीलाई बिर्सिए, तराई गए । आले, जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, अर्चना गहतराज लगायतले डोटीबाटै जित्नुभयो तर डोटीको पक्षमा उहाँहरु देखिनुभएन किनकी उहाँहरुको मनसाय नै तराई राजधानी बनाउनु थियो ।’

खड्काले दिपायल सुदूरपश्चिमको मुटु र सबै जिल्लालाई पायक पर्ने ठाउँ भएकाले पनि राजधानी हुनुपर्नेमा जोड दिए ।

स्थानीय खगेन्द्र सुनार अरुबेला चुईक्क नबोल्ने तर आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा आएर ‘दिपालय राजधानी’को कुरा उठाउँनेलाई डोटीका जनताले राम्रोसँग चिन्नुपर्ने बताए । 

‘हामीलाई यिनीहरुले भेडाबाख्रा चराउने गोठाला सम्झिन्छन् । जनतालाई झुक्काएर पुनः निर्वाचित भई सत्तामा जाने सोच पालेका छन्,’ सुनारले धनगढीखबरसँग भने, ‘उहाँहरुलाई अहिले दिपालय राजधानी नभएको चिन्ता होइन । जनतामाथि भ्रम श्रृजना गर्दै आफ्नो दुनो सोझ्याउँने चिन्ता हो ।’

अर्का स्थानीय रोशन कठायत अहिले नेताहरुले दिपालयलाई राजधानी बनाउँन नसिकएको भन्दै भाषण गरेपनि पुनः जितेपछि यो मुद्दा ओझेलमा पर्ने बताउँछन् । 

‘यो जनतालाई झुक्याउने र आँखामा छारो हाल्ने काम हो । पहिलै नै कैलाली राजधानी तोकिएको थियो र त्यसमा उनीहरुले नै बल गरेका हुन्,’ कठायतले भने, ‘यसमा सबै भन्दा ठूलो हात आले र जोशी कै थियो । अहिले उनीहरुले फेरि त्यही मुद्दा ल्याएका छन् । यसमा विश्वास गर्ने कुनै आधार छैन ।’