मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

मुलुकको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ :  प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे ।

“हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उनले भने, “तर कर्मचारी ९तपाई० हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।” उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । 

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए । “जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उनले भने, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ ।

त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ ।” उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ । मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताए ।

“निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन”, उनले भने, “कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।” उनले जुनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राखे । सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अस्थायी सरकारले स्थायी सरकारलाई हस्तक्षेप गर्दा मुलुकको विकास निर्माणमा बाधा पुगेको बताए । उनले चार वर्षदेखि सङ्घीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राखे ।

कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासनमन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गरेका थिए । कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ ।

यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।