कैलालीमा  गठबन्धनलाई चुनौती बन्दै नागरिक उन्मुक्ति

कैलालीमा  गठबन्धनलाई चुनौती बन्दै नागरिक उन्मुक्ति

धनगढी ।  कैलालीमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र विपक्षी नेकपा (एमाले)ले धमाधम उमेदवारको टुंगो लगाउँदै छन् । थारु समुदायका मुद्दा उठान गरी उदाएको नागरिक उन्मुक्ति पार्टी समेत ठूला दललाई चुनौती दिन तयार बनेको छ ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्तिले कैलालीका चार स्थानीय तह जित्यो । त्यसानुसार सो पार्टी आसन्न निर्वाचनमा ठूला दललाई ठूलै चुनौती बन्ने देखिन्छ ।

निलम्बित सांसद रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गराएका हुन् । वि।सं। २०७२ सालमा टीकापुरमा आठ सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर उनी जेल जीवन बिताइरहेका छन् । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति अहिले संगठन निर्माणमा लागिपरेको छ । ०७८ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको हो । स्थानीय निर्वाचनमा ठूला राजनीतिक दललाई माथ दिँदै कैलालीमा बलियो राजनीतिक शक्तिका रूपमा उदाएको छ ।

कैलालीका १३ मध्ये नागरिक उन्मुक्ति चार स्थानीय तहमा विजयी भयो । सो पार्टीले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै तथा टीकापुर नगरपालिकामा प्रमुख पद जितेको हो ।

कैलालीमा अहिले सो पार्टी सबैको चासोको विषय बनेको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले स्वीकारेका छन् । विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता नागरिक उन्मुक्तिमा प्रवेश गर्ने क्रम पनि बढ्दो छ ।

“कैलालीको निर्वाचन क्षेत्र–१, २ र ३ थारु समुदायको बाहुल्य क्षेत्र हो । त्यहाँ यो पार्टी हाम्रा लागि चुनौती बन्न सक्ने देखिएको छ,” कांग्रेस सचिव मिश्रले भने, “गठबन्धनमा राम्रोसँग उमेदवार दिएमा समस्या हँुदैन ।”

गएको स्थानीय निर्वाचनको मत हेर्दा कैलालीको निर्वाचन क्षेत्र नम्बर–१, २ र ३ मा नागरिक उन्मुक्तिको मतभार बढी छ ।

कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा उमेदवारी दिने आफूहरूको तयारी रहेको नागरिक उन्मुक्तिका संगठन विभाग प्रमुख अरुण चौधरीले बताए । उनका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कैलाली–१ मा रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी, ३ मा गंगा चौधरी, ५ मा कैया चौधरी र राजेन्द्र देवकोटा तथा कैलाली–५ मा लक्ष्मण चौधरीको नाम चर्चामा छ । असोज १ गतेसम्म सबै क्षेत्रका उमेदवार टुंगो लगाएर प्रचारप्रसारमा जुट्ने उनले बताए ।

“कैलालीमा स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिका रूपमा उदाए पनि आम निर्वाचनमा खासै प्रभाव पार्दैन,” एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले भने, “यसमा ठूला राजनीतिक दलकै प्रभाव रहन्छ ।”