निजामती सेवा दिवस दार्चुलामा पनि मनाइयो

निजामती सेवा दिवस दार्चुलामा पनि मनाइयो

दार्चुला । १९ औं निजामती सेवा दिवस दार्चुलामा विविध कार्यक्रम गरि मनाइएको छ । व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामति सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको हो ।
 दिवसको अवसरमा विहान प्रभातफेरी, बिरामीहरुलाई फलफूल वितरण र दिउँसो रक्तदान गरि दिवस मनाइएको जिल्ला मूल समारोह समिति दार्चुलाले जनाएको छ । बिहान जिल्ला सदरमुकाम खलंगाको खुला मन्चबाट सुरु भएको प्रभातफेरी कार्यक्रम जिल्ला अस्पताल दार्चुलाका बिरामीलाई फलफूल वितरण गर्दै पुनः खुलामन्चमै कोणसभा आयोजना गरेर समापन गरिएको थियो । दिउँसो जिल्ला अस्पताल दार्चुलामा एक कार्यक्रमको आयोजना गरी रक्तदान गरिएको छ । 

   रक्त दान कार्यक्रममा विभिन्न रक्त समूहका कर्मचारीहरुले रगत दान गरेका छन् । यसैबीच सरकारी कार्यालयहरुले कार्यालय पाल्ने पहिलो सेवाग्राहीहरुलाई अबिर तथा फूलमाला लगाएर स्वागत गरी सेवा प्रारम्भ गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा निजामती कर्मचारीहरुले संघीय निजामती सेवा ऐन यथासिघ्र लागू हुनुपर्ने बताएका छन् । 
   सोही कार्यक्रमलाई सम्बोधन गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले हरेक कर्मचारीले सेवा नै धर्म हो भनेर काम गर्नुपर्ने बताए । साथै उनले आवश्यकता परेको बेला जस्तोसुकै भूमिका पनि निर्वाह गर्नुपर्ने हुदाँ कर्मचारीले कार्यशैलीबाट आम सरोकारवाला र सेवाग्राहीको विश्वास जगाउन सक्नुपर्ने बताए । 
   यस्तै दिवसको अवसरमा भन्सार कार्यालय दार्चुलाले दुई जना व्यापारीलाई सम्मानित गरेको छ । भन्सार राजस्व रकम इमान्दारीताका साथ बुझाउने उनीहरुलाई सम्मानित गरिएको हो । जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ मा व्यवसाय संचालन गरी व्यापार गरिरहेका कृषि बजारका संचालक दिलेन्द्र राज भट्ट र जगदीश किराना पसलका संचालक बिमला घर्तीलाई सम्मानित गरिएको भन्सार कार्यालय दार्चुलाका प्रमुख शिवचन्द्र प्रसादले बताए । उनीहरुलाई एक कार्यक्रमका बीच खादा र अबिर लगाएर सम्मानित गरिएको हो । यसैबीच महाकाली नगरपालिकाले दिवसको अवसरमा वर्षभरी जनसेवामा खटिने सबै कर्मचारीलाई धन्यवाद तथा बधाई दिएको छ । 
   दिवसको अवसरमा ७ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको छ । नगरपालिकाले योजना अधिकृत युवराज जोशी, एमआइएस अपरेटर धनराज भट्ट, अहेव हरीकृष्ण जोशी, वडा सचिव दीपक प्रसाद अवस्थी, नगरबस चालक भूपाल सिंह धामी, कार्यालय सहयोगी दिपेन्द्र सिंह कुवर र कुचिकार लालमती कुमारीलाई सम्मानित गर्ने प्रमुख प्रशासनकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए  । साथै नगरपालिकाले दिवसको अवसर पारेर सेवाग्राहीलाई कर्मचारीले आफैबाट नमस्कार गर्ने अभियानको शुभारम्भ गरेको छ । तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले वि।सं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएका थिए । सोही दिन पारेर २०६० सालदेखि यो दिवस मनाउन थालिएको छ ।