प्रदेशमा नवौ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गरिदै

प्रदेशमा नवौ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गरिदै


 आगामी महिना गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् । नवौंमा खेलाइने ३६ मध्ये ३३ खेलमा सहभागी हुने सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलाडी छनोटका लागि एक हजार दुई सय ८३ पुरूष र आठ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषदले जानकारी दिएको छ ।

यी मध्येबाट सात सय नौ जना खेलाडी गण्डकी जान छनोट हुने प्रदेश खेलकुद परिषदले जनाएको छ । यसमध्ये एक सय ९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने र सोझै छनोट हुने भएका छन् । असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो ।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ । 

नवौंमा यस प्रदेशबाट अन्तर्राष्ट्रिय, स्थानीय रेफ्री र निर्णायक गरी चार सय ७२ जना अरू खेल पदाधिकारी सहभागी हुनेछन् । नवौंका लागि जम्मा एक हजार चार सय ८१ जनाको टोली गण्डकी जानेछ ।

प्रदेशमा १६ वटा खेलमा प्रतियोगिताबाट छनौट गरिने छ भने हक्की, जुडो, कराते, लगायतका अन्य खेलमा सोझै छनौट गरिने प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए । उनले छनौट प्रतियोगिता कैलाली र कञ्चनपुरका खेलमैदानमा गरिने बताए । उनका अनुसार अहिलेसम्म पुरुष क्रिकेट प्रतियोगिताका खेलाडी छनौट भईसकेका छन । अन्यको असोज ७ गतेभित्र छनौट गर्ने गरि तयारी भईरहेको बताए ।

अन्य केही प्रदेशमा भने नवौं राष्ट्रिय खेलकुद प्रतीयोगिताका लागि तयारी केही अघिदेखि नै सुरू भए पनि बजेट ढिलो प्राप्त भएकाले सुदूरपश्चिममा खेलाडी छनोटमा ढिलाइ भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए । ‘बजेटमा खेलकुदलाई निकै बेवास्ता गरेजस्तो महसुस भएको छ, बजेट अभावका कारण सधै समस्या पर्ने गरेको छ,’ उनले भने ।

यस वर्ष प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने भएको छ ।  यही बजेट पनि निकै गाह्रो मानेर छुट्याएको प्रदेश सरकारले उत्कृष्ट खेलाडी र विधामा आफैंले छुट्टै पुरस्कार वा प्रोत्साहनका लागि सहयोग दिने भनेको छैन ।

प्रदेश खेलकुद परिषदका लागि प्रदेश सरकारले चार करोड, परिषदको ९५ लाख र राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त ४० लाख रकमबाट खेलाडी व्यवस्थापन, छनौट कार्यक्रम अघि बढाउनुपर्ने बाँध्यता रहेको छ ।