दार्चुलामा भदौ २८ गते देखि फाइजरको दोस्रो डोज दिइने

दार्चुलामा भदौ २८ गते देखि फाइजरको दोस्रो डोज दिइने

दार्चुला । दार्चुलामा बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप भदौ २८ गतेदेखि दिइने भएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर–बायोएनटेकको दोस्रो मात्रा दिइन लागिएको हो । यहि भदौ ६ देखि १० गतेसम्म संचालित खोप अभियानबाट पहिलो मात्रा लगाएका जिल्लाका १७ हजार ३३९ बालबालिकालाई दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । जिल्लाका नौ वटै स्थानीय तहमा भदौ २८ देखि असोज १ गतेसम्म अभियान संचालन गरेर खोप लगाइने उनले बताए ।  खोप ४ सय २९ खोप केन्द्रहरुबाट लगाइनेछ ।  फाइजर–बायोएनटेक खोप बालबालिकालाई २१ दिनको फरकमा दुई डोज पूरा गर्नुपर्दछ । भदौ ६ देखि १० गतेसम्म संचालन गरिएको खोप अभियानमा जिल्लाका ९७ प्रतिशत ९१७८९३ जना बालबालिकालाई खोप लगाइएको छ । 
जिल्लाको महाकाली नगरपालिकाका ३ हजार ६९४ जना, मालिकार्जुन गाउँपालिकाका १ हजार ७०१, अपि हिमालका ८२३, लेकम गाउँपालिकाका १३७३, शैल्यशिखर नगरपालिकाका २ हजार ९०६ बालबालिकालाई खोप लगाइने बताइएको छ । यस्तै नौगाड गाउँपालिकाका २ हजार २४९, मार्मा गाउँपालिकाका २ हजार ३५२, दुहुँ गाउँपालिकाका १ हजार १४१ र व्याँस गाउँपालिकाका १ हजार १०० बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच बिहीवार बसेको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई बुस्टर डोजका लागि खोप माग गर्ने निर्णय गरेको छ ।