बैतडीमा जीर्ण भवनमा पठनपाठन

बैतडीमा जीर्ण भवनमा पठनपाठन

बैतडी । पञ्चायतकालमा जनश्रमदानमा निर्माण भएको विद्यालयको पाँच कोठे भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ। छानो भत्केपछि तीनवटा कोठामा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। बाँकी रहेका कक्षाकोठामा दुईवटा कक्षासँगै सञ्चालन गरेर पठनपाठन भइरहे पनि भवन भत्किने डरले तीन सय जना विद्यार्थी त्रसित बनेका छन्।  

भारतसँग सीमा जोडिएको महाकाली किनारको पञ्चेश्वर गाउँपालिका–१, शेरी–बैसेकस्थित २०३४ सालमा निर्माण भएको चतुर्वाहु आधारभूत विद्यालयको जीर्ण भवन शेरी–बैसेक र सन्तोला गाउँको मतदान केन्द्र पनि हो। 

स्थानीय शिक्षक वीरसिंह घटालले विद्यालयको जीर्ण अवस्थालाई स्थानीय नेताले ध्यान नदिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेताले भनेअनुसार भोट दिए पनि ४५ वर्षअघि जनश्रमदानमा बनेको पाँचकोठे जीर्ण भवन फेरिन सकेको छैन। पटकपटक माग गर्दा पनि भवनको योजना आउँदैन। गाउँलेलाई नै दशा लागेको हो कि रु सरकारसँग बजेट नै नभएर भवन बन्न नसकेको हो भनेर  विद्यालयको चिना हेराउने अवस्था सिर्जना भएको छ।”

कक्षा ८ सम्म पठनपाठन हुने चतुर्वाहु आधारभूत विद्यालयमा शेरी, बैसेक, सन्तोला र धर्माघाट टोलका करिब तीन सय जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक जितसिंह घटालले बताए । 

उहाँले भन्नुभयो, “गत वर्ष गाउँपालिकाले शौचालय बनाउन दिएको बजेटबाट जेनतेन दुई कोठा बनेका छन्। कक्षा कोठा अभावमा पूर्वप्राथमिक बाल विकास र कक्षा १ को पठनपाठन एउटै कोठामा गर्नुपर्ने बाध्यता छ। नयाँ भवन बन्ने आशामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रत्येक वर्ष आवेदन दिइरहेका छौँ तर पनि भवनको योजना आउँदैन। मनकारी कुनै दातृ निकाय छन् भने भवन बनाई दिन आग्रह गर्न चाहन्छौँ।”