नेपालमा नौ हजार ८३५ जनामा डेंगु पुष्टि

नेपालमा नौ हजार ८३५ जनामा डेंगु पुष्टि

धनगढी । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ८ सय ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । 

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा सात हजार ४४० जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेस प्रदेशमा १८० र  कर्णाली प्रदेशमा ६६ जनामा डेंगु पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशमा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरू ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।