पशुको मोहभङ्ग, चाहिन्छ मानव अङ्ग

पशुको मोहभङ्ग, चाहिन्छ मानव अङ्ग

गोकर्ण दयाल,बैतडी । नरभक्षी चितुवालाई स्थानान्तरणका लागि तल्लो स्वराड क्षेत्रका वन जङ्गलमा राखिएका फलामे पिँजडा अलपत्र परेका छन् । बैतडीमा चितुवाले ११ वर्षमा २५ जनाको ज्यान लिइसकेको छ । चितुवाको आक्रमणमा परी १४ जना घाइते भएका छन् । 

चितुवालाई सुरक्षित तरिकाले थुन्न डिभिजन वन कार्यालयले २०७७/२०७८ मा शिवनाथ गाउँपालिकाका दुई स्थानमा फलामे पिँजडा राखेको थियो । स्थानीयले पिँजडाभित्र मासु राखे पनि चितुवा पिँजडा नजिक आउने गरेको छैन, बरु भोक लागेपछि मान्छे खान गाउँ पस्ने गरेको छ । 

बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवाले ११ वर्षमा २५ जना बालबालिकाको ज्यान लिइसकेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले जानकारी दिनुयो । 

चितुवा प्रभावित क्षेत्रका २५ जना पीडित परिवारलाई उज्यालोका लागि सोलार वितरण गरेर चितुवा थुन्न पाँच वडा पिँजडा निर्माण गरे पनि चितुवा नफसेको उहाँले बताउनुभयो ।       

चितुवा नियन्त्रण गर्न डिभिजन वन कार्यालय बैतडीले गाउँ नजिकैका जङ्गल छेउमा राखेको फलामे पिँजडा देखाउँदै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले भन्नुभयो, “चितुवा थुन्न फलामको पिँजडामा बाख्रा बाँधेर छोडे पनि चितुवा अहिलेसम्म खोर नजिक आएको छैन । मानव बस्तीमा पसेर बालबालिकालाई झम्टेर खाइरहेको छ । ” 
अध्यक्ष साउदले भन्नुभयो, “यही भदौ ६ र ७ गते चितुवाले घरमै आएर आक्रमण गर्दा  शिवनाथ गाउँपालिका–६, का १३ वर्षीय बालक पारस धनाडी र ६८ वर्षीय बहादुर दमाइ घाइते हुनुभएको थियो ।

चितुवाको आक्रमणमा परी बालकको टाउको, गर्धन र कम्मरमा चोट लागेको छ भने वृद्धको तिघ्रामा गम्भीर चोट छ । ” 

वि।सं २०६८ सालदेखि २०७९ भदौसम्म चितुवाको आक्रमणमा परेर ज्यान गुमाउने बालबालिकामा र शिवनाथ गाउँपालिका–२ का ७ वर्षीय सुदिप मडै, विशापुरका डेढ वर्षीय वीरबहादुर चन्द, उदयदेवका अढाई वर्षीय सुनिल साउद, पञ्चेश्वरका १० वर्षीया सुनिता साउद, १३ वर्षीया आशाकुमारी कोली र २७ वर्षीया किथ्थीदेवी छन् । 

त्यसैगरी, कुलाउकी निर्मला कुमारी ११ वर्ष, विशालपुरका दीपक चन्द ४ वर्ष, नवीन भट्ट ६ वर्ष, सुरज लोहार १० वर्ष, चम्फाकुमारी भट्ट ११ वर्षका छन् । आमचोराका सुप्रिया चन्द ४ वर्ष र मञ्जु चन्द ८ वर्षका छन् । 

यस्तै, ज्यान गुमाउनेमा गिरेगाडाका सन्तोष चन्द ७ वर्ष, शर्मालीका पार्वती चन्द, आमचोराका महेश चन्द ४ वर्ष, विशालपुरका कोपिला चन्द डेढ वर्ष, र प्रतिष्ठाकुमारी विष्ट ३ वर्ष, सपना लुहार १६ वर्ष, डम्बर सोनी ८ वर्षका पनि विशालपुरकै छन् । ज्यान गुमाउनेमा उदयदेवकी ललिता साउद ६ वर्ष, महाकालीका सचिन साउद, उदयदेवका चन्चला साउद ७ वर्ष, उजली साउद १२ वर्ष गरी २५ जनालाई चितुवाले आहारा बनाइसकेको छ ।    

चितुवा पीडित स्वराड क्षेत्रका आमाहरुको पीडा निकै कहालीलाग्दो छ । चितुवाले काख रित्तो बनाएपछि पञ्चेश्वर गाउँपालिका–४, आमचोराका निर्मला चन्द घर छोडेर विनायक गाउँमा सहारा लिएर बसिरहनुभएको छ । 

उहाँका पाँच वर्षीय छोरा महेश चन्दलाई घरमै आएर चितुवाले दिउँसै झम्टेर खाएपछि उहाँ आफू बस्दै आएको घर छोडेर छिमेकी घरमा आश्रय लिएर बसिरहनुभएको छ । चितुवापीडित आमाले भन्नुभयो, “घटनापछि त्यो घरमा जानै मन लाग्दैन । छोराकै अनुहार आँखाभरि घुम्छ । ”   

११ वर्षमा ११ वटा चितुवा पनि मरे  

११ वर्षको अवधिमा चितुवाको आक्रमणमा मान्छेले मात्रै ज्यान गुमाएका छैनन् । यही भदौ १ गते बैतडीको दशरथचन्द नगरपालिका–४, सबनासौं गाउँमा पासोमा परेर गर्भवती चितुवाको ज्यान गएको छ ।

जङ्गली बँदेलका लागि किसानले बारीमा थापेको पासोमा परेर हालसम्म ११ वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । 

नरभक्षी चितुवाको जीवितै उद्धार गर्ने उद्देश्यले बस्ती छेउको जङ्गलमा फलामको पिँजडा राखे पनि त्यसमा हालसम्म चितुवा नफसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।