पल शाह प्रकरणकी पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

पल शाह प्रकरणकी पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन


अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा  मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् । 


सामाजिक सञ्जालमार्फत उनले आफूमाथि भएको घटना नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको समेत उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो  समस्यालाई नियालि दिनुहोला’, उनले भनेकी छन् । 


क्षतिपूर्ति लिने मनसाय छैन


उनले आफूले पीडकबाट क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् ।  क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागि  आफ्नो ठाउँमा अडिग छु’, उनले भनेकी छन् । नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । तर बाल दुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको थियो । सो मुद्दा तनहुँ अदालतमा भने विचाराधीन नै छ ।