विभिन्न शिर्षकमा निर्णय गर्दै बैतडीमा पालिकाबैठक सम्पन्न

विभिन्न शिर्षकमा निर्णय गर्दै बैतडीमा पालिकाबैठक सम्पन्न


बैतडी /पालिकाभित्र नयाँ पुस्तालाई लोकसेवा आयोगको परीक्षामा आकर्षण गर्ने लगाएतका विषयमा छलफल गर्दै  बैतडीको पाटन नगरपालिकामा अन्तरपालिकास्तरीय समन्वय कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला प्रशासन कार्यालयको संयोजनमा बुधबार पाटन नगरपालिकाले कार्यक्रमको  आयोजना गरेको थियो। 

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले  स्थानीय तहले खनेका सडकहरुको रुट परमिट लिनको लागि पहल गर्नुपर्ने,  बजार अनुगमनमा पनि स्थानीय तहले ध्यान दिनुपर्ने, बर्षातका कारण अवरुद्ध भएका सडक खुलाउन पनि पालिकाहरुले पहल गर्नुपर्ने लगायतका  जिल्लामा भएका समस्याहरुजनप्रतिनिधि समक्ष राखेका थिए । 

बैठकले विभिन्न १० ओटा निर्णय पारित गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । पहिलो बैठकले स्थापना गरेको सामुदायिक कोरोना कोष सञ्चालनका लागि बनेको कार्यविधि संशोधन सहित पारित गर्ने र त्यो कोषमा सबै पालिकाले योगदान गर्ने निर्णय भएको छ । कुनै जातजाती वा समुदायलाई होच्याउने खालका गाउँ तथा टोलका नाम भए त्यसलाई तुरुन्तै सच्याउने निर्णय पनि भएको छ । 


यस्तै आगामी निर्वाचनलाई स्वच्छ, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्नका लागि सबैले आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको छ । 


जिल्ला प्रशासन कार्यालयले हरेक महिना फरक पालिकामा गएर पालिका समन्वय बैठक गर्ने गरेकोमा दोस्रो बैठक पाटन नगरपालिकामा सम्पन्न भएको हो । पहिलो बैठक दशरथचन्द नरपालिकामा सम्पन्न भएको थियो ।  अर्को बैठक भने दोगडाकेदार गाउँपालिकामा गर्ने निर्णय समेत बैठकले गरेको छ ।