एउटै विद्यालयबाट संगै सात जनाले गरे लोकसेवा पास

एउटै विद्यालयबाट संगै सात जनाले गरे लोकसेवा पास


दार्चुला/ दार्चुलामा एउटै विद्यालयमा अध्ययनरत ७ जनाले एकै पटक  लोकसेवाको परीक्षामा उत्तीर्ण भएका छन् । जिल्लाको लटिनाथ नमुना मावि चन्दनपुर चौपतामा अध्ययन  सात जना विद्यार्थीहरु एकैचोटी लोक सेवा आयोगको  परिक्षा पास गरेका हुन् । कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ्य प्राविधिक (पाचौं तह)को लिखित परिक्षामा पशु विज्ञान तर्फ डिप्लोमा गरेका विद्यार्थीहरुले आयोगको लिखित परीक्षामा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । 

दार्चुलाको दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको लटिनाथ माविले गुणस्तरीय शिक्षा दिइरहेको प्रधानाध्यापक केशव बिष्टले बताए । उनले भने ‘शिक्षाका नाममा व्यापार भइरहेका बेला हामीले दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गरेर नमूना बन्ने प्रयास गरिरहेका छौं ।’

करिब ११ सय जना विद्यार्थी अध्ययनरत लटिनाथ मावि पछिल्लो समय विद्यार्थीहरुको रोजाइको केन्द्र बन्दै गएको छ । उक्त विद्यालयमा सुदुरपश्चिमका सबै जिल्लाहरुबाट शिक्षा ग्रहण गर्नका लागि आउने विधार्थीहरुको संख्या बढ्दो रहेको विद्यालयका प्रधानाध्यापक बिष्टले बताए ।

अहिले कृषि विज्ञान र पशु विज्ञानमा डिप्लोमा तथा डिप्लोमा इन फरेस्टीको पढाई भइरहेको विद्यालयले जनाएको छ । प्राविधिक शिक्षामा देशकै नमूना विद्यालय बनाउने आफूहरुको सोच रहेको प्रधानाध्यापक बिष्टले बताए । 

यस्तै लटिनाथ नमुना मावि कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १० नम्बरमा परेको छ ।