रोगको संक्रमण बड्दो, स्वास्थ्य सेवा ठप्प

रोगको संक्रमण बड्दो, स्वास्थ्य सेवा ठप्प

धनगढी । भाइरल ज्वरोको सङ्क्रमण बढिरहेको बेला कैलालीमा एक स्वास्थ्य संस्थाको सेवा ठप्प भएको छ । संस्थामा कार्यरत कर्मचारी अन्यत्र गएपछि टीकापुर नगरपालिकाको विकट श्रीलंकामा रहेको सहरी स्वास्थ्य केन्द्रको सेवा महिनादिनदेखि ठप्प भएको हो ।

सीमावर्ती विकट क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको सहरी स्वास्थ्य केन्द्र महिना दिनदेखि बन्द रहेको छ । स्वास्थ्य केन्द्र नै बन्द भएपछि श्रीलङ्कावासीले केन्द्रबाट स्वास्थ्योपचार सेवा पाउन सकेका छैनन् ।

‘गएको साउनदेखि सहरी स्वास्थ्य केन्द्रको भवनमा ताला लागेको छ’, स्थानीय नयाँराम बुढाले भने,‘खै के कारणले यहाँ कर्मचारी आउन मानेका छैनन् ?’ स्वास्थ्य संस्था नै बन्द भएपछि श्रीलङ्कावासीलाई स्वास्थ्योपचारमा समस्या भएको छ । कोही बिरामी परेमा उपचारका लागि बटनपुर, टीकापुर वा बर्दियाको राजापुर धाउनु परिरहेको बुढाको भनाइ छ ।

‘अहिले भाइरलको समस्या देखा परिरहेकाले बिरामी भएका बढीजसो उपचारका लागि राजापुरतिर गइरहेका छन्’, उनले भने,‘यसै वर्षदेखि सहरी स्वास्थ्य केन्द्रबाट सेवा सुरु भएको थियो । त्यो पनि धेरै समय सञ्चालन भएन, बन्द गरिएको छ ।’

स्थानीयका अनुसार एक जना एएनएमको भरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्रमा कार्यरत एएनएम कर्मचारीलाई अन्यत्र खटाइएको बताइएको छ । कर्मचारी अन्यत्र गएपछि त्यसपछि अरु कर्मचारी केन्द्रमा आएका छैनन् । त्यो बेलादेखि सहरी स्वास्थ्य केन्द्र बन्दको बन्दै रहेको छ । सुविधा छैन भनेर कर्मचारी आउन नमानेको कुरा सुनिएको अर्का स्थानीय भीम महरले बताए ।

कर्मचारी नआउँदा सहरी स्वास्थ्य केन्द्रको कार्यालय बन्द भएको धेरै दिन बितिसके पनि नगरपालिका गम्भीर नभएको स्थानीयवासीको गुनासो छ । उनीहरुले छिटै कर्मचारी पठाउन र सहरी स्वास्थ्य केन्द्रको सेवा फेरि सञ्चालन गर्न आग्रह गरेका छन् ।

केन्द्रको भवनमा विद्युत र खानेपानीको व्यवस्था नरहेको जनाइएको छ । विद्युत र खानेपानी नभएका कारणले पनि कर्मचारी आउन नचाहेका हुन कि, भन्ने स्थानीयको बुझाइ रहेको छ ।वडा नम्बर ८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले केही दिनभित्रै सहरी स्वास्थ्य केन्द्र खुल्ने बताए ।

‘श्रीलङ्कामा पब्लिक पनि कम रहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई केही समयलाई अन्यत्र पठाएका हौं’, उनले भने,‘उहाँ फेरि आउनुहुन्छ र हामी सेवा सञ्चालन गर्छौ । जनतालाई सेवा दिनकै लागि यो बनाइएको हो ।’ वडा अध्यक्ष ठकुल्लाले सहरी स्वास्थ्य केन्द्र बन्द भएको महिना दिन नभइ एक हप्तामात्रै भएको उल्लेख गरे । ‘बन्द भएको धेरै दिन भएको छैन’, उनले भने,‘छरसात दिनमात्रै भएको छ ।’ 

एक वडामा एउटामात्रै सहरी स्वास्थ्य केन्द्र रहने व्यवस्था रहे पनि विकट श्रीलङ्कावासीलाई सेवा दिनका लागि श्रीलङ्कामा छुट्टै सहरी स्वास्थ्य केन्द्र खोलिएको वडा अध्यक्ष ठकुल्लाको भनाइ छ । कर्णाली र मोहना नदीको तल्लो तटीय क्षेत्रमा पर्ने श्रीलङ्कामा ५५र६० घर परिवारको बसोबास रहेको छ । कैलालीमा डेङ्गु रोगबाट बिरामी हुनेको सङ्ख्या १२४ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेङ्गुका बिरामी फेला परेका हुन ।