कैलालीमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या एक सय बत्तीस पुग्यो

कैलालीमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या एक सय बत्तीस पुग्यो

धनगढी । कैलालीमा डेङ्गु रोगबाट बिरामी हुनेको सङ्ख्या १३२ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेङ्गुका बिरामी फेला परेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा ६६ जना डेङ्गुका बिरामी फेला परेका छन् । सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा सात जनामा डेङ्गु पुष्टि भएको जनाइएको छ । नवजीवन अस्पतालमा ३, कामना प्याथोलोजीमा दुई, मिश्र पोलिक्लिनिकमा एक जना संक्रमित फेला परेका छन् ।

यसैगरी, चौमाला प्राथमिक प्राथमिक स्वास्थ्य चौकीमा चार, माया मेट्रो अस्पतालमा तीन, मसुरिया स्वास्थ्य केन्द्रमा एक जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, बर्दगोरिया गाउँपालिकामा तीन, जानकीमा दुई, घोडाघोडी नगरपालिकामा दुई, टीकापुर नगरपालिका र मोहन्याल गाउँपालिकामा एक÷एक जना डेङ्गुका बिरामी फेला परेका छन् । 

गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेङ्गुका बिरामी फेला परेका थिए । चालू आर्थिक वर्षको दुई महिनामा डेङ्गुका कारण कैलालीका दुई जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।

उनका अनुसार धनगढीको निसर्ग अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ । भदौ १४ गते ति महिलाको मृत्यु भएको हो । यसैगरी, टीकापुरकी एक बालिकाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । तर, त्यसको बारेमा थप जानकारी प्राप्त नभएको प्रमुख धामीले बताए ।  

कैलालीको सबै जसो क्षेत्रमा अहिले सङ्क्रमण बढेको छ । डेङ्गु सङ्क्रमित एडिस एजिप्टाइ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको–पेट दुख्ने, वाकवाकी लाग्ने, जीउ–जोर्नी दुख्ने, आाँखाको गेडी दुख्ने र शरीरमा रातो बिमीरा आउने जस्ता लक्षण देखा पर्दछ । यस्ता लक्षण देखिएमा तुरुन्तै अपस्पताल पुगेर उपचार गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

डेङ्गुबाट जोगिनका लागि लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ । यसैगरी, लामखुट्टेको वृत्ति विकास रोक्न घर वरिपरि सरफाइ गर्नु पर्ने, खाल्डाखुल्डी पुर्नु पर्ने, प्लाष्टिकको बट्टा, भाँडा, ड्रम, टायर, डिब्बा लगायतका वस्तुमा पानी जम्न नदिने लगायतको कार्य गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।