डोटीका समाजसेवी तथा पर्यटन अभियन्ता शाही अभिनन्दित

डोटीका समाजसेवी तथा पर्यटन अभियन्ता शाही अभिनन्दित

डोटी । पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै समाजसेवी तथा पर्यटन अभियन्ता अमरबहादुर शाहीलाई अभिनन्दन गरिएको छ।

शिखर नगरपालिका वडा नं.२ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा  शाहीलाई अभिनन्दन गरिएको हो। वडाअध्यक्ष गणेश बोगटीले पर्यटन क्षेत्रमा ख्याती कमाएका शाहीले सामाजिक कार्यमा निस्वार्थ योगदान पुर्याएकोमा अभिनन्दन गरिएको जानकारी दिए।

रैका टुर्स एण्ड ट्राभल्स संचालक शाहीले सन २०१० मा ‘ग्रीन फारवेष्ट अभियान’ संचालन गरेका थिए। सो अभियान अन्तर्गत सुदूरपश्चिममा एक लाखभन्दा बढी विरुवा वृक्षारोपण गरिएको शाही बताउँछन्।

पर्यटन व्यवसायी शाहीले खप्तड जाने पर्यटकलाई लक्षित गर्दै जन्मथलो मुडेगाउँमा म्याङ्गो रिसोर्ट निर्माण गरिरहेका छन्। ‘कृषि पर्यटनलाई प्रर्वद्धन गरेर ग्रामीण क्षेत्रमा पनि पर्यटक तान्न सकिने उदाहरण दिन आफूले जन्मथलोमा रिसोर्ट र कृषि फर्म खोल्न लागिएको शाहीले बताए।

कोरिया टुर्स एण्ड ट्रेकिङ एसोशियसन नेपालका अध्यक्षसमेत रहेका शाहीले मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्धनका लागि ‘वाइल्ड वेष्ट नेपाल’ अभियान संचालन गर्दै आएका छन्।

जीवनकै पहिलो कमाइ गाउँकै महाकाली माबिको भवन निर्माणमा लगाएका शाही विपन्न, अनाथ तथा दलित समुदायका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउँदै आएका एक प्रेरक व्यक्तित्व भएको महाकाली माविका प्रधानाध्यापक कृष्णराज पाठकले बताए। शाहीलाई विद्यालयकै प्राङ्गणमा अभिनन्दन गर्न पाएकोमा प्रअ पाठकले खुसी व्यक्त गरे।

स्थानीय रामबहादुर लुहार भने स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन उन्नत जातको आँप खेतीका लागि शाहीले प्रोत्साहन गरेको सम्झन्छन्। लुहारले शाहीकै योगदानका कारण वडाका करिब एक सय परिवारले आँप खेती गर्दै आएको बताए। शाहीकै अग्रसरतामा गत वर्ष मुडेगाउँ ऑप प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको थियो। सो प्रदर्शनीमा राखिएका ऑप हेलिकप्टरमा काठमाडौँ लगिएको थियो। 

उक्त अभिनन्दन काकार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, महाकाली माबिका प्रअ, शिक्षक तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।