दार्चुलामा सहुलियतमा चामल बिक्रि

दार्चुलामा सहुलियतमा चामल बिक्रि

दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दार्चुलाले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दार्चुलाले प्रतिकेजी ७ रूपैयाँ छुट गरेर बिक्रि सुरु गरेको हो ।  सुपथ मूल्य पसलको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उद्घाटन गरे । 

नेपालीहरुको महान पर्व बडा दशै, तिहार, छठको अवसरमा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम तथा बजेट बमोजिम सुपथ मूल्य पसल संचालनमा ल्याई कार्यालयबाट सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दार्चुला शाखाका प्रमुख राम सागर मेहताले बताए । 

उनले आउँदो कात्तिक १५ गतेसम्म कम्पनीको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए । कम्पनीले उपभोक्तालाई दिदै आएको दरमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिदै बिक्री गरिरहेको छ । मोटो चामल अब ४१ रुपैयाँ प्रतिकिलोमा खरीद गर्न पाइने छ भने मकवानपुर चामलको ४३ रुपैयाँ, जिरा मसिनो चामल ६१ रुपैयाँ र बास्मती चामल १ सय ८ रुपैयाँमा विक्री हुने प्रमुख मेहताले बताए । 

यसअघि मोटो चामल किलोग्राम ४८ रुपैयाँ, मकवानपुर चामल ५० रुपैयाँ, जिरा मसिनो चामल ६८ रुपैयाँ र बास्मती चामल ११५ रुपैयाँमा विक्रि वितरण हुदै आएको थियो । साथै चामल खरीद गर्न आउदा नागरिकताको प्रतिलिपी साथमा लिन हुन समेत अनुरोध गरिएको छ ।

०७९ साउन ३१ गते दार्चुलाको सदरमुकाम खलंगामा स्थापना गरिएको कार्यालयबाट हालसम्म जिरा मसिनो चामल २४९ क्वीन्टल ७५ किलो, मोटो चामल १० क्वीन्टल ५० किलोग्राम र बास्मती चामल १७ क्वीन्टल ४० किलोग्राम विक्रि भएको जनाइएको छ ।