एमालेले गर्‍यो समानुपातिक सांसदको नामावली पारित, कुन प्रदेशबाट कति ? (सूचीसहित)

एमालेले गर्‍यो समानुपातिक सांसदको नामावली पारित, कुन प्रदेशबाट कति ? (सूचीसहित)

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची पारित गरेको हो।

प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको छ।

सचिवालयबाट पारित भएको सूची सोमवार निर्वाचन आयोगमा बुझाउने उनले बताए। समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने सोमबार अन्तिम दिन हो।

प्रचार विभागका सचिव गगन विष्टले आइतवार प्रकाशन गरेको विज्ञप्तिअनुसार, प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२, खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (८ महिला र ७ पुरुष), मधेशीतर्फ १७, (९ महिला, ८ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको उल्लेख छ ।

त्यसैगरी, प्रदेश नम्बर १ का लागि २० महिला र १७ जना पुरुषसहित ३७ को नाम समावेश गरिएको छ । 

त्यसैगरी, मधेस प्रदेशमा २३ महिला र २० पुरुष गरी ४३ को नाम तयार भएको छ। । बागमती प्रदेशमा २० पुरुष र २४ महिलासहित ४४ जनाको सूची बनेको छ।। गण्डकीको समानुपातिक सूचीमा ११ जना पुरुष र १३ जना महिला गरी २४ उम्मेदवारको सूची तयार भएको छ। 

लुम्बिनी प्रदेशमा १५ जना पुरुष र २० जना महिला गरी ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ।

कर्णाली प्रदेशमा १० पुरुष र ११ महिला गरी १६ जना समानुपातिक उम्मेदवारको सूची बनेको छ। सुदूरपश्चिम प्रदेशका लागि १० पुरुष र ११ महिला गरेर २१ जनाको नाम बन्द सूचीमा समेटिएको छ।