अछाम पहिरो अपडेटः घर भत्किएर पुरिएका २२ जनाको शव निकालियो

अछाम पहिरो अपडेटः घर भत्किएर पुरिएका २२ जनाको शव निकालियो

अविरल बर्षा संगै पहिरो आएपछि घर भत्किएर पुरिएका अछामका २२ जनाको शव निकालिएको छ । आइतबार अछामको तुर्माखाँद गाउँपालिकाका १३ बर्षिय शुन्दर शाहीको शव भेटिएसंगै मृतकको संख्या २२ पुगेको हो ।

गत शुक्रबार आएको अविरत बर्षापछि पहिरोका कारण जिल्लका चार स्थानमा पहिरोले क्षती गरेको थियो । शनिबार र आइतबार गरी स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा २२ वटा शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मिनराज आचार्यका अनुसार घरमाथीबाट आएको पहिरोले घर पुरिदा तुर्माखाँद गाउँपालिका–५ नाडामा नौ जना, कमलबजार नगरपालिका–६ वीरपथमा सातजना र सोही नगरपालिका–८ डुँगालामा पाँचजनाको मृत्यु भएको हो ।

नाडामा ४५ वर्षीय नेत्र शाही, ३५ वर्षीया मनिषा शाही, १७ वर्षीया विमला शाही, १६ वर्षीया जानकी शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, १३ वर्षीया सुन्दर शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया नेलिना शाहीको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका–६ विरपथमा इन्द्र परियार घर पहिरोले पुरिँदा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समीता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको मृत्यु भएको पुष्टि भएको छ। उक्त घटनाका सातजना घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

कमलबजार नगरपालिका–८ डुँगालामा थिरे दमाइको घर भत्केर २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टि दमाईको मृत्यु भएको पुष्टि भएको छ।

यस्तै, शनिबार नै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नवीन बुढाको मृत्यु भएको थियो। घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीय चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा जैसी बेपत्ता अवस्थामै रहेको र खोजिभइरहेको छ।