अदालतको आदेशपछि भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

अदालतको आदेशपछि भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

भारतमा चर्चित मोबाइल म्युजिक एप 'टिकटक'माथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु भएको छ।बुधबार मदरास उच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन सरकारलाई निर्देशनात्मक आदेश दिएपछि भारत सरकारले यसको प्रक्रिया अघि बढाएको हो।

अदालतले उक्त एपले बच्चा र युवाहरुमा नकारात्मक प्रभाव पारिरहेको र यसले उनीहरूको भविष्य बिग्रिन सक्नेबारे सचेत गराएको छ।

अन्तरिम आदेश दिँदै अदालतले केन्द्र सरकारलाई बुधबार नै उक्त एप डाउनलोड गर्न प्रतिबन्ध लगाउने व्यवस्था गर्न भनेको थियो।

टिकटकमार्फत् बनेका भिडियोहरु सञ्चारमध्यम वा अरू कुनै माध्यमबाट प्रसारण नगर्न पनि आदेशमा भनिएको छ।

समाज सुधारमा सरकारको नैतिक दायित्व हुने भन्दै टिकटकमा अश्लील सामाग्रीहरू रहेकोले यसलाई नियन्त्रण नै गर्नुपर्ने अदालतको ठहर छ। ती सामाग्रीहरुले युवा र बालबालिकाहरूको विकासमा बाधा पुग्ने अदालतले ठहर गरेको छ।

बालबालिकाहरूलाई साइबर क्राइमबाट पीडित हुन नदिन कानुन बनाउनेबारे सरकारको तयारी अवगत गराउन समेत अदालतले भनेको छ।

टिकटकले भारतको संस्कृतिमा नकारात्मक असर गरेको र त्यसमा अश्लील सामाग्रीहरू भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउन एस मुथुकुमारले अदालतमा निवेदन दिएका थिए।

२०१६ मा चिनियाँ कम्पनीले बनाएको टिकटक पहिला म्युजिकल्ली भनेर चिनिन्थ्यो। विश्वभर यसका ५०० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेको छ। भारतमा मात्रै करिब १०० मिलियनले टिकटक प्रयोग गरेको अध्ययनले देखाएको छ।