सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्ततः फेरी प्रदेश सभाका आकाङ्क्षी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्ततः फेरी प्रदेश सभाका आकाङ्क्षी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्ततः फेरी प्रदेश सभाका आकाङ्क्षी भएका छन् । यस अघि प्रतिनिधि सभाको उम्मेदवार बन्ने भन्दै जिल्लाबाट एकल सिफारिसमा परेका भट्टले अहिले प्रदेश सभामा चासो देखाएका हुन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा मुख्यमन्त्री भट्ट सहित नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेको थियो । अहिले उक्त क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्ने देखिएपछि मुख्यमन्त्री भट्ट फेरी प्रदेशमा झर्ने योजना बनाएका हुन् । उनले केही समय अघि सम्म आफू संघीय निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवार बन्ने नभए समानुपातिक बाटो रोज्ने बताएका थिए ।

उनकै चाहना अनुसार माओवादी केन्द्र डोटी जिल्ला समन्वय समितिले गत भदौ २२ गते प्रतिनिधि सभा उम्मेदवारका लागि भट्टको नाम एकल रूपमा सिफारिस गरेको थियो। यस्तै, समानुपातिक तर्फ खस आर्य मा उनको नाम पहिलो नम्बरमा नै सिफारिस गरिएको थियो । अहिले समानुपातिक तर्फबाट पनि प्रतिनिधि सभा सदस्य हुने सुनिश्चित नभएपछि प्रदेश सभामै उनको मन मोडिएको हो । स्रोतका अनुसार समानुपातिकको पहिलो र दोस्रो नम्बरमा आउन चाहेका भट्टले त्यो सम्भव नदेखेपछि कागज पत्र नै बुझाएनन्।

‘उहाँले मुख्यमन्त्रीले पहिलो वा दोस्रो नम्बरमै बस्न खोज्नु भएको थियो त्यो सम्भव भएन अनि कागजात नै दिनुभएन’ माओवादी उच्च स्रोतले बतायो । मुख्यमन्त्री प्रतिनिधि सभा प्रवेश गर्ने दुवै बाटो बन्द भएपछि प्रदेश सभाको लागि लबिङमा लागेका छन् । १० गते अघि काठमाडौँ पुगेका भट्टले ५ पटक सम्म टिकट सारेर नेताहरूसँग भेटघाट गरिरहेको माओवादी स्रोतको दाबी छ ।

‘उहाँ १२ गते फर्किने भनेर काठमाडौँ आउनु भएको हो तर, ५ पटक सम्म टिकट सारेर नेताहरूलाई भेटिरहनु भएको छ’ माओवादी स्रोतले भन्यो ‘सबैलाई भेटेर पुन प्रदेश सभाको लागि टिकट मागिरहनु भएको छ ।’ अहिले सम्म उनले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शक्ति बस्नेत उपराष्ट्रपति नन्द किशोर पुन लगायतका नेतालाई भेटेर प्रदेश सभाको लागि इच्छा’ जाहेर गरेको स्रोतको दाबी छ ।

प्रतिनिधि सभामै केन्द्रित भएका भट्ट प्रदेश सभा तर्फ पनि इच्छा राखेपछि अहिले डोटीमा माओवादी केन्द्र भित्रै विवाद सुरु भएको छ । आगामी निर्वाचन पछि माओवादीले सरकार बनाउने अवस्था आए मुख्यमन्त्रीका लागि खगराज भट्टको नाम अघि सारिएको छ । डडेल्धुरामा तीन पटक सम्म शेरबहादुर देउवासँग पराजित भट्टलाई प्रदेशमा लडाएर मुख्यमन्त्री बनाउने आश्वास देउवाले नै दिएका छन् ।

मुख्यमन्त्री बन्ने सम्भावना नभए पनि फेरी प्रदेश सभा तर्फ केन्द्रित भएको भन्दै मुख्यमन्त्री भट्टको आलोचना हुन थालेको छ । २०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा ख बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली कांग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए। भट्टले १६ हजार ९१ मत प्राप्त गरेका थिए भने कांग्रेसका शाहीले १३ हजार ५९५ मत प्राप्त गरेका थिए ।

यस पटक पनि भट्ट डोटी प्रदेश सभा ख बाट उम्मेदवार हुन खोजेका हुन्। माओवादी केन्द्र डोटीले भने प्रदेश सभा ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती र प्रेम कुँवरको नाम सिफारिस गरेको छ। प्रदेश सभा क भने नेपाली कांग्रेसले पाउने भएको छ । यस अघि पनि यहाँ बाम गठबन्धनका उम्मेदवारलाई हराएका कांग्रेसका भरत खड्का विजयी भएका थिए ।