कैलाली क्षेत्र नम्बर ४ मा बलायरलाई भण्डारीको भर

कैलाली क्षेत्र नम्बर ४ मा बलायरलाई भण्डारीको भर


धनगढी / सत्ता गठबन्धनको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन जोगाउन डोटी जिल्ला नेकपा एकीकृत समाजवादीलाई छोड्नै पर्ने भएपछि पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरलाई कैलाली क्षेत्र नम्बर ४ को उम्मेदवार बनाउने निधो गरे ।

कैलाली क्षेत्र नम्बर ४ मा देउवाको पहिलो रोजाई भने सुनिल कुमार भण्डारी थिए । बलायरलाई जहाँ भए पनि स्थान दिनुपर्ने बाध्यताका बिच देउवाले नचाहेरै भण्डारीको ठाउँमा उम्मेदवार बनाउने निर्णय गरे । र, बलायरलाई बालुवाटार बोलाए । देउवाले बलायरलाई भने, सुनिल कुमार भण्डारीलाई म के भनूँ ? उनलाई फकाउने, मनाउने जिम्मा तिम्रो ?

भारी मनले यति भनिरहँदा देउवाले भण्डारीलाई आफूले छोड्न नचाहेको र उनलाई टिकटबाट वञ्चित गर्ने आफ्नो मनसाय नभएको पनि भन्न भ्याए । लामो समय कोइराला खेमामा रहेका भण्डारी २०७४ सालपछि देउवा खेमामा सहभागी भए । त्यसयता देउवाले भण्डारीलाई आफ्नो साथमा लिएर हिँडे । तर दुवै जना नेताका बिचमा भने संवाद भने बिरलै हुने गरेको छ । यस पटक भण्डारी आफू टिकट पाउने ढुक्क थिए । र, बालुवाटारले पनि कैलाली क्षेत्र नम्बर ४ मा भण्डारी नै उम्मेदवार बन्ने तय गरेको थियो । 

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका नेता लेखराज भट्टसँग पराजित भएका भण्डारी यस पटक भने जित्ने आकलन गरिएको थियो । फरक पार्टीबाट प्रतिस्पर्धा गर्ने भट्ट र भण्डारी दुवै सगोत्रीय हुन् । उनीहरूका बिचमा पारिवारिक सम्बन्ध पनि छ । त्यसैले अघिल्लो चुनावमा उनीहरूबिच व्यक्तिगत प्रतिस्पर्धा वा घोचपेच भएन । एकले अर्कामाथि कुनै टिप्पणी गरेनन् ।

‘म बुढो भइसके । चुनाव जिते पनि काम त भाइ(लेखराज भट्ट)ले गर्ने हो भनेर दाइले भन्नु हुन्थ्यो, भट्ट सुनाउँछन्, हामी फरक पार्टीबाट प्रतिस्पर्धा गरे पनि हाम्रो बिचमा कहिल्यै कुनै तिक्तता भएन ।

प्रतिनिधि सभाको टिकटको आकाङ्क्षी रहेका भण्डारी नेपाली काँग्रेसका सुदूरपश्चिमका सबैभन्दा पुराना नेता हुन् । यद्यपि उनी अहिलेसम्म चुनाव जितेर प्रतिनिधि सभामा पुगेका छैनन् । त्यस कारण पनि उनी एक पटक चुनाव जितेर प्रतिनिधि सभाको सदस्य बन्न चाहन्छन् । ‘मर्नुअघि एक पटक निर्बाचित भएर जनताको सेवा गर्ने धोको छ ।’उनले  आफ्नो इच्छा यसरी प्रकट गरेका थिए ।
पार्टीले उनीलाई औपचारिक निर्णय सुनाइसकेको छैन । त्यसैले अहिलेसम्म आफू नै उम्मेदवार रहेको भण्डारीले बताउँदै आएका छन् ।

यद्यपि पार्टी सभापति देउवाको स्वीकृतिपछि बलायर कैलाली क्षेत्र नम्बर ४ पुगिसकेका छन् । र, उनले त्यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट तीव्र पारिसकेका छन् । र, उनले भेट्न नसकेका नेता र कार्यकर्तालाई फोन गरेर सुझाव सल्लाह मात्र मागिरहेका छैनन्, सहयोग गर्न आग्रह समेत गरिरहेका छन् ।

विपक्षीहरूले उनलाई टुरिष्ट भन्दै प्रचारबाजी गरिरहेका छन् । यद्यपि उनको परिवार स्थायी रुपमा मालाखेतीमा बस्छन । र, उनको परिवार त्यहाँको माटोसँग भिजेको छ । 
कैलाली क्षेत्र नम्बर ४ काँग्रेसको सबैभन्दा पकड भएको क्षेत्र मानिन्छ । यद्यपी भेगीय र जातीय भावनाले यहाँको राजनीतिलाई दिशा निर्देश गर्ने गरेको छ । त्यसैले चुनावी नतिजा तय गर्ने गरेको छ । क्षेत्र नम्बर ४ मा नेकपा एमालेभन्दा काँग्रेस बलियो छ । यसअघि अधिकांश डोट्याल मतदाताको भोट पाएर भट्ट विजयी भएका थिए ।

नेकपा एमालेका नेता भट्टलाई यस पटक भण्डारीसँग चुनाब जित्न कठिन हुने आङ्कलन गरिएको थियो । बलायरको उपस्थितिले भट्टले भने राहत महशुस गरेका छन् । किनकि भट्ट र भण्डारीका नातागोता र आफन्त एउटै हुन् । र तिनै उनीहरूका भोट बैङ्क पनि हुन् ।

भण्डारीलाई सहयोग गर्ने तिनै भोटरहरूलाई बलायरले कति आकर्षण गर्न सक्छन् ? बलायरको भविष्य भने तिनै मतदाताले निर्धारण गर्नेछन् । पार्टी सभापति देउवाले भने झैँ  भण्डारीलाई बलायरले फकाउन र सम्झाउन सक्छन् कि सक्दैनन् ? आफूसँग हिँडाउन सक्छन् कि सक्दैनन् ? त्यसैले बलायरको भट्टसँगको प्रतिस्पर्धा सहज वा असहज कस्तो हुने भन्ने निर्धारण हुनेछ ।