एकै घरका चार जनामा अपांगता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या

एकै घरका चार जनामा अपांगता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या

बझाङ : जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपांगता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ।

घरका मूलीसहित परिवारका सबै सदस्यमा अपांगता भएपछि उनीहरूको दैनिक रोजीरोटीमा समस्या भएको हो। ४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र १२ वर्षीय नवीनलाई अपांगता भएपछि परिवार सधै समस्यामा पर्दै आएको छ।

काम गर्ने अर्को मान्छे कोही नभएपछि बोहरा परिवार जिल्लाका विभिन्न ठाउँमा माग्दै गुजारा चलाउने गर्छन्। घरका सबैमा अपांगता भएकाकाले यो परिवारलाई जीवन धान्न समस्या छ। घरमूली रहेका नरिको दाँया खुट्टामा समस्या भएकोले हिँडडुल गर्ने समस्या छ।

त्यसैगरी उनकी श्रीमती भागादेवीको पनि दायाँ खुुट्टा चल्दैन। त्यसैगरी दुवै छोरा न्यून दृष्टिका हुन्। जिल्लाको दुर्गम देउलीकोटबाट परिवार नै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक संकलन गर्ने प्रमाणपत्र बनाउन आएका थिए।

आफ्ना दुई छोरासहित सदरमुकाम चैनपुर आर्थिक सहयोग माग्दै आएका नरिले भने, 'घरमा काम गर्ने कोही छैन, सबैमा अपांगता छ, छोराछोरी पढाउन खान लाउन समस्या छ त्यसैले बजारमा माग्दै छु।' 

बाठपाली माविमा अध्ययन गर्दै आएका छोराहरूलाई आर्थिक अभावका कारण विद्यालय छुटाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। बोहराको परिवारमा चारै जनासँग अपांगता परिचयपत्र छ।

कान्छो छोरा नवीनको (क) श्रेणीको अपांगता परिचयपत्र भएकाले सरकारले मासिक रु दुई हजार दिने गरेकोले त्यसैबाट घर खर्च चलाउँदै आएको बोहराले बताए।

घरका अन्य तीन जनासँग (घ) श्रेणीको परिचयपत्र भएकाले राज्यबाट पाउनुपर्ने सुविधाबाट उनीहरू वञ्चित छन्। आफूहरूले पनि राहत पाउने पर्ने उनीहरूको माग छ।

घरमूली नरिको एक्कासि खुट्टामा घाउ भएर उपचार गर्न नपाएर अपांगता भएको हो भने उनकी श्रीमतीको जन्मजात एउटा खुट्टा चल्न नसक्ने थियो। त्यसैगरी बोहराका दुवै छोरा जन्मजात न्यून दृष्टिका हुन्। जेठो छोरा रवीन्द्रको धनगढी उपचार गरेर सामान्य उपचार हिँडडुल गर्न सक्छन् भने कान्छो छोरा नवीनले अरुको सहारा लिनुपर्छ।