सुदूरपश्चिमका अस्पताल चिकित्सकविहीन हुने अवस्थामा

सुदूरपश्चिमका अस्पताल चिकित्सकविहीन हुने अवस्थामा

कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पताल विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरू चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता छाएको छ । 

८७ मध्ये ७९ चिकित्सकले संघ रोजे
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ८७ जना चिकित्सकको दरबन्दी छ । तीमध्ये ७९ जनाले संघ रोजेका छन् । केन्द्रले सार्वजकि गरेको सूचीका आधारमा समायोजन भए प्रदेशमातहतका अस्पतालमा दुईजना कन्सल्टेन्ट, तीनजना एमबिबिएस र तीनजना आयुर्वेद चिकित्सक मात्र रहने सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । प्रदेशका अस्पताल चिकित्सकविहीन हुने अवस्था उत्पन्न भएको उनले बताए ।

प्रदेश सरकारअन्तर्गत सेती र महाकाली गरी दुईवटा तत्कालीन अञ्चल अस्पताल, ६ वटा जिल्ला अस्पताल र चारवटा जिल्ला तहका अस्पताल छन् । डडेल्धुरा अस्पताल मात्र संघ सरकारमातहत छ । ‘संघको सूचीअनुसार चिकित्सक खटिएर गए प्रदेशमातहतका अस्पतालमा चिकित्सक रहँदैनन् । यसले स्वास्थ्य क्षेत्रमा ठूलो संकट निम्तिन सक्छ,’ कार्कीले भने । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत ८औँ तहदेखि माथिका १५ जनामध्ये १३ जनाले समायोजनमा संघ रोजेका छन् ।

१०औँ तहका डाक्टर खगेन्द्र भट्ट र ९औँ तहका डाक्टर जगदीश जोशीले मात्र प्रदेश रोजेका हुन् । अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले संघ रोजेका सबै विशेषज्ञ जाने हो भने दुईजनाले मात्र अस्पताल सञ्चालन हुन नसक्ने बताए । ‘दुईजना डाक्टरले मात्र अस्पताल चल्न सक्दैन । यसबारे सरकारले केही सोचेको होला,’ पाण्डेयले भने । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरि ८औँ तहका तीनजना डाक्टरले समायोजनमा स्थानीय तह रोजेका छन् । 

अर्को व्यवस्था नभएसम्म नखटाउन संघलाई प्रदेशको आग्रह
प्रदेश सरकारले अर्को व्यवस्था नभएसम्म चिकित्सकलाई कार्यरत संस्थामै काजमा राख्न संघलाई आग्रह गरेको छ । समायोजनअनुसार खटाइँदा अस्पताल चिकित्सकविहीन हुने भएकाले तत्काल नखटाउन मुख्यमन्त्री कार्यालयमार्फत संघीय सरकारलाई आग्रह गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । छात्रवृत्तिमा एमबिबिएस र एमडी अध्ययन गरेर आएकालाई प्रदेशमा खटाउन आग्रह गरिएको सचिव हमालले बताए । तेजराज भट्टले यो खबर नया पत्रिकामा लेखेका छन ।