भोट माग्न गाउँ पस्न थाले कैलालीका उम्मेदवार

भोट माग्न गाउँ पस्न थाले कैलालीका उम्मेदवार

यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनैतिक दलहरू भोट माग्न गाउँ पस्न लागेका छन् । निर्वाचन आचार संहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र ब्यानर सहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।

जिल्लामा सत्ता गठबन्धनका उम्मेदवारहरू अहिले आन्तरिक छलफल र गृहकार्य मानै व्यस्त रहेका छन् भने नेकपा एमाले सहितका अन्य दलहरू पनि उम्मेदवार सहित छलफल एवं परामर्श मानै व्यस्त रहेका छन् । उम्मेदवार र दलहरू आन्तरिक गृहकार्यमा व्यस्त रहँदै गर्दा दलका तल्लो तहका नेताहरू भने आफ्नो पक्षमा मत माग्नका लागि गाउँ गाउँ पुग्न सुरु गरिसकेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको कैलालीको गोदावरी नगरपालिकाका स्थानीय कुवेर खड्काले बताए । 

“फरक–फरक दलको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू घरदैलोमा हिँड्नुभएको छ”, उहाँले भन्नुभयो, “उम्मेदवार र नेताको चहलपहलले चुनावी माहौल बढाएको छ ।” उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैला र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

कैलालीमा प्रतिनिधि सभाका लागी पाँच सिट छन् भने प्रदेश सभाका लागी दश सिट रहेका छन् । घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनीहरूले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन् ।

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा संरचना बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागिता मूलक बनाउने उम्मेदवारको कार्यसूची छ ।

“पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहो¥एर भोट माग्न आएका छ”, खड्काले भन्नुभयो, “योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ ।”