मुद्दा दर्ता गर्न कमेडियन अपूर्व क्षितिजलाई लगियो अदालत

मुद्दा दर्ता गर्न कमेडियन अपूर्व क्षितिजलाई लगियो अदालत

कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालत लगिएको सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। स्ट्यान्डअप कमेडी गर्दा नेवा: समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरूद्ध मुद्दा परेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त दिन कार्यालयले मुद्दा हेर्न नभ्याएको भन्दै प्रहरीले पुन: अपूर्वलाई हिरासतमा लिएको थियो।

भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको हो।

उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।  नेवा अभियन्ताहरूले अपूर्वविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिएका थिए।

उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो। कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। 'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।

त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।